अभिनयमा अनुकरणीय बनिरहेका सौगात-Sutra News

अभिनयमा अनुकरणीय बनिरहेका सौगात

शुक्रबार, ४ फाल्गुन २०८०

शुक्रबार, ४ फाल्गुन २०८०

काठमाडौं । यतिबेला नेपाली फिल्मप्रति आकर्षण ल्याउन सक्ने र बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर भएको कलाकारको रूपमा सौगात मल्लले आफूलाई चिनाइरहेका छन् । सशक्त अभिनय गर्ने कलाकारको रूपमा आफ्नो पहिचान बनाउँदै आएका सौगातले आगामी फिल्म ‘अगस्त्य’मा त्यस्तो काम गरेका छन्, जुन अरू नेपाली कलाकारले सायद यसरी मेहनत गर्न सक्दैनन् होला । यतिबेला सौगातको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ ।



फिल्मको पात्रमा बाँच्ने कलाकार कम पाइन्छ । नेपालमा त अझै, निकै कम भेटिन्छन् । यसमा सौगात मल्ल सबैभन्दा अगाडि छन् । बक्स अफिसमा पनि उनी सफल मानिन्छन् । पात्रलाई जीवन्त रुपमा अगाडि बढाउने कुरामा पनि उनी अग्रसर छन् ।

फिल्म ‘अगस्त्य’का लागि सौगातले आफ्नो ज्यान नै जोखिम राखेर काम गरेका छन् । त्यसैले त फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै दर्शकसँगै मिडियाको पनि बढी चासोको विषय बनेको हाे । फिल्मले ट्रेलर रिलिज पछि त झन् तहल्का नै मच्चाएको छ । अझ भनौँ, सौगात मल्लको त त्यो अवतार देखिएको छ, जुन आजसम्म कुनै फिल्म मेकरले सौगातबाट बाहिर ल्याउन सकेका छैनन् ।

यो फिल्मबाट सौगातले त्यो लेभलसम्मको काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन् । यसरी हेर्दा, उनको कलाकारितालाई अरू फिल्म मेकरले सही सदुपयोग गर्न नसकेका हुनकी भन्ने आभाष गराएको छ । सिधा भाषामा भन्ने हो भने उनको कला शैलीलाई धेरैले बिगारेको नै देखिन्छ । उनको वास्तवमै सही सदुपयोग हुन नसकेको हो कि भन्ने धेरैलाई लाग्न सक्छ ।

तर, निर्देशक सौरभ चौधरीले अगस्त्यबाट उनको काम र कलाकारितालाई सही पहिचान गरेर उनको कला क्षमता बाहिर निकालेको देखियो । आजसम्म कसैले देख्न नसकेको सौगातभित्रको हिरालाई पहिचान गरेर पर्दाका लागि प्रस्तुत गर्न सफल सौरभलाई सलाम गर्नैपर्ने हुन्छ ।

पछिल्लो समय हलिउड र बलिउड फिल्म हेर्न बानी भएका दर्शकहरूले नेपाली कलाकारहरूको अभिनय फिका हुने भन्दै नेपाली फिल्म हेर्न नचाहेको देखिन्थ्यो । नेपाली कलाकारले राम्रो काम नगरेकै कारण नेपाली फिल्म क्षेत्र माथि उठ्न नसकेको भन्नेका लागि सौगातले फिल्म अगस्त्यबाट निकै मिठो जबाफ दिइएका छन् ।

उनले आफ्नो अभिनयमा कुनै कसर बाँकी छाडेका छैनन् । हेर्दा साउथ इन्डियन फिल्मलाई नै टक्कर दिने यस ट्रेलरमा सौगात मल्लको एक्सन छरितो र बुलन्द देखिन्छ । बदलाको कथामा आधारित यस फिल्ममा सौगातलाई दुई फरक चरित्र निभाएको देख्न सकिन्छ । सौगात एक्सनमा त अझ सशक्त देखिएका छन् । एक्सन सँगै उनले आफ्नो बडी बनाउन कति सम्म मेहनत गरे भन्ने कुरा पनि प्रस्ट हुन्छ ।

यसरी एउटै फिल्ममा निकै हट्टा कट्टा र सबैभन्दा धेरै वजन बढाएको अवतारमा देखिएका उनलाई यही फिल्ममा सबैभन्दा कम वजनमा पनि देखिन्छ । यस फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए ।

उसो त कलाकारहरू आफ्नो पात्रलाई न्याय गर्नको लागि कहिले मोटाउने त कहिले घट्ने गर्दछन् । तर सौगातले एकै फिल्ममा यी २ अवतारलाई नै न्याय गरेको देख्दा साँचै जादु जस्तो नै महसुस हुन्छ । उनले आफ्नो बडीमा मात्र चेन्ज ल्याएका छैनन् । एक्सन जस्तै मानसिक सन्तुलन गुमेको चरित्रमा पनि सौगात सशक्त देखिएका छन् ।

ट्रेलर हेर्दा जति राम्रो देखिन्छ त्यति नै त्यसका कलाकारले गरेको मेहनत पनि आँखा अगाडि घुम्छ । अझ सौगतले कति सम्म दुख गरे होलान् भन्ने कुरा फिल्मको ट्रेलर र टिजर हेर्दा आफूलाई महसुस हुन्छ । मानसिक सन्तुलत गुमेको चरित्र गरेको वेला खालि खुट्टै हिँड्दा उनको खुट्टाको सबै छाला नै उक्किएको समेत बताइन्छ ।

यसकाकारण, सौगात मल्ल फिल्म क्षेत्रको वास्तविक सुपरस्टार हुन् । तर, नेपाली फिल्म क्षेत्रमा यतिको योगदान दिएर काम गरे पनि सौगात भने आफूले काम गर्दा प्रत्येक पल रमाइलो भएको बताउँछन् ।

बिहीबार ट्रेलर रिलिज कार्यक्रममा मिडियासँग कुरा गर्दै उनले भने–‘अरूले बाहिरबाट हेर्दा निकै दुःख पाएको जस्तो देख्नुहुन्छ । अरूले भनेपछि मलाई पनि हो कि जस्तो लाग्छ । तर, मलाई काम गर्दा निकै रमाइलो लाग्छ । मैले जीवनमा फिल्म बाहेक अरू खेल्दिनँ र केही पनि काम गर्दिनँ भनेर नै यो क्षेत्रमा आएको हुँ । यसैले, यी सबै काममा म रमाउँछु ।’

फिल्म क्षेत्रमा अझै बलियो भूमिका नपाएको विषयमा पनि सौगातले घुमाउरो जवाफ दिएका छन् । के तपाइलाई फिल्म क्षेत्रले प्रयोग गर्न नसकेको हो भन्ने प्रश्नमा सौगात भन्छन्, ‘मलाई तपाईँहरूले प्रश्न सोधेपछि हो कि जस्तो लाग्न थालेको छ । सायद होला ।’

फिल्म ‘अगस्त्य’मा आफूले गरेको भूमिका लामो समयसम्म पनि दर्शकको दिमागमा बस्ने विश्वास उनको रहेको छ ।

फागुन १८ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा सौगातका अलावा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट