प्रधानमन्त्री–अर्थमन्त्री टसल, विवाद बढेपछि बचाउमा आए अर्थमन्त्री-Sutra News

प्रधानमन्त्री–अर्थमन्त्री टसल, विवाद बढेपछि बचाउमा आए अर्थमन्त्री

शुक्रबार, ४ फाल्गुन २०८०

शुक्रबार, ४ फाल्गुन २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको आकार घटाइएको दाबी गरेका छन् । शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।



अर्थमन्त्री महतले बाहिर चर्चा भएजस्तो टसल प्रधानमन्त्रीसँग नभएको दाबी गरेका छन् ।

“प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ बृहत छलफल हुन्छ, प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ, यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन”, विवादबारे बोल्दै अर्थमन्त्रीले महतले भनेका छन्, “अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग बृहत् छलफल भएको छ, विषयलाई अतिरञ्जित गरिदिनु भएन ।”

गत माघ २९ गते अर्थमन्त्री डा. महतले अर्धवार्षिक समीक्षाका क्रममा चालू आर्थिक वर्षको बजेट २ खर्ब २१ अर्ब रुपैयाँले घटाएको घोषणा गरेका थिए । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएपनि यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका थिए ।

तर, उक्त निर्णय गर्दा प्रधानमन्त्रीसँग कुनै समन्वय नगरिएको विषय बाहिरिएको थियो । जुन घटनापछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच टसल बढेको चर्चा भएको थियो । जुन चर्चाका बीच अर्थमन्त्री महत पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउमा उत्रिएका हुन् ।

यद्यपि, प्रधानमन्त्री निकटहरुले बताएअनुसार बजेटमा मनोमानी कैची चलाइएको विषयमा गठबन्धनभित्रै समीक्षा सुरु भएको छ । प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष नै विषय राखेका छन् । प्रधानमन्त्रीले अर्थमन्त्रीकै विकल्प खोज्नेगरी छलफल प्रारम्भ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट