‘सक्किगोनी’को टिमले घोषणा गरे पहिलो फिल्म ‘लाज शरणम्’-Sutra News

‘सक्किगोनी’को टिमले घोषणा गरे पहिलो फिल्म ‘लाज शरणम्’

बिहिबार, ३ फाल्गुन २०८०

बिहिबार, ३ फाल्गुन २०८०

काठमाडौं । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’को टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ ।



‘सक्किगो नि’ समूहले बनाउन लागेको पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माणको घोषणा गरेको हो । बुधबार वसन्त पञ्चमीको अवसर पारेर एक थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरिएको हो ।

यो फिल्म शीर्षकले नै कमेडी कथावस्तुमा निर्माण हुन लागेको बुझाउँछ । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएसँगै फिल्मको घोषणा गरिएको कलाकार कुमार कट्टेलले जानकारी दिए । फिल्मलाई यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको छ । यो फिल्मलाई कुमार कट्टेल र अर्जुन घिमिरेको टिमले निर्देशन गर्ने जानकारी समेत दिइएको छ ।

‘सक्किगोनि’कै दुई मुख्य पात्र कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को समुहले फिल्मलाई निर्देशन गर्ने पोस्टरमा उल्लेख छ । कलाकारको बारेमा भने कुनै जानकारी गराइएको छैन ।

स्रोतका अनुसार कुमार र अर्जुन नै फिल्मको मुख्य भूमिकामा हुनेछन् । कुमार र अर्जुनका साथमा ‘सक्किगोनी’मा काम गरेका अरु कलाकारहरु कमलमणी नेपाल, दीपक आचार्य, सागर लम्साल, हरिश निरौलाको पनि अभिनय रहने चर्चा छ । यस्तै, फिल्ममा फिल्म क्षेत्रका नाम चलेका कलाकारहरूलाई पनि समावेश गर्ने तयारी यो टिमको छ ।

कमेडी जनरामा निर्माण हुने फिल्मको पहिलो ड्राफ्टको स्क्रिप्टको काम सकिएको वुझिएको छ । अझै, केही चरण स्क्रिप्टमा बसेर फाइनल गर्ने तयारी निर्माण टिमको छ । कथा र परिकल्पना कुमारको हो । कुमारसहित दीपक आचार्य, हरिश निरौला र गजित विष्टले मिलेर पटकथा लेखिरहेका छन् ।

२ करोड रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण कम्पनीको रुपमा जेपिटि क्रिएसन छ । यसअघि फिल्म ‘फनफनी’ बनाउने तयारी गरेपनि काम अगाडि बढाउन नसकेको यो टिमले अब भने ‘लाज शरणम्’लाई निर्माण गरेर आउँदो बर्ष नै रिलिज गर्ने तयारी थालेको हो । ‘फनफनी’ निश्चल बस्नेत र मुख्य अभिनेतामा विपिन कार्की समेत अनुबन्ध भइसकेका थिए । तर पछि निश्चलले हात झिकेपछि फिल्म नै निर्माण हुन सकेन । यो फिल्मलाई २०८१ सालमा प्रदर्शनको योजना बनाइएको छ ।

सिरियलमा हिट भएपछि फिल्ममा आउने टिमको संख्या धेरै छ । जसमा दीपकराज गिरीको टिम सर्वाधिक हिट मानिन्छन् । अब ‘सक्किगोनि’ सिरियलको टिमले पनि फिल्म निर्माणमा परीक्षा दिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट