रवि–जीबीमाथि सम्पत्ति शुद्धिकरणले थाल्याे छानबिन-Sutra News

रवि–जीबीमाथि सम्पत्ति शुद्धिकरणले थाल्याे छानबिन

बुधबार, २ फाल्गुन २०८०

बुधबार, २ फाल्गुन २०८०

काठमाडौं । गृहमन्त्रीसमेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन थालेको छ । जसका लागि विभागले सबैजसो वाणिज्य बैंकलाई पत्र लेख्दै लामिछाने र राईको विवरण मागेको छ ।



विभागले माघ ८ गते काठमाडौंमा रहेका सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी सोधेको थियो । विभागले बैंकहरुलाई चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन भनेको छ ।

विभागले बैंकहरुलाई माघ ८ मा पत्र लेखेको भएपनि हालै सार्वजनिक भएको हो । पत्रमा विभागले लामिछाने र राईमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझका सिलसिलामा विवरण चाहिएको भनेकाे छ  । प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्षर गरिएको पत्र विभिन्न बैंकहरुलाई पठाइएको छ ।

फोर–के टेलिभिजनका सञ्चालक राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । उनीविरूद्ध नेपाल प्रहरीले  डिफ्युजन नोटिस जारी गरेको छ।

यता, पछिल्लो समयमा रास्वपा सभापति लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगीको विषयमा उजुरी परेको छ।

कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ।

लामिछाने र राई व्यापारिक साझेदारका रुपमा थिए । ग्यालेक्सी फोर–के टेलिभिजनमा सहकार्य गरेका उनीहरु राजनीतिमा पनि सँगै थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट