गठबन्धनभित्र खटपट, विकल्प खोज्दै माओवादी-Sutra News

गठबन्धनभित्र खटपट, विकल्प खोज्दै माओवादी

बुधबार, २ फाल्गुन २०८०

बुधबार, २ फाल्गुन २०८०

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको लाभहानीबारे समीक्षा गरेको छ । विधान अधिवेशन अगाडि बसेको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रले वर्तमान सत्ता गठबन्धनबाट राजनीतिकरूपमा पार्टीलाई भएको लाभहानीबारे समीक्षा गरेको हो । माओवादी केन्द्रले वर्तमान सत्ता गठबन्धन माओवादी केन्द्रका निम्ति फाइदाजनक नभएको समीक्षा गरेको छ ।



कोशी घटनालाई केन्द्रीत समीक्षामा माओवादी केन्द्रले लगातार आफूमाथि धोका भइरहेको निष्कर्ष निकालेको छ । कोशीको सत्ता नेतृत्व लिने सहमतिपछि सत्ता साझेदार नेपाली कांग्रेसको इतर समूहले एमालेसँग गठबन्धन गर्दै सरकार निर्माण गरेको थियो । जुन घटनापछि माओवादी सत्ताको नेतृत्व लिनबाट बञ्चित बन्यो ।

त्यसयता पुनः राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि माओवादी उम्मेदवारमाथि सोही शैलीमै धोकाधडी भयो । जसको समीक्षा गर्दै नेताहरूले सत्ता सहकार्यलाई सामान्यरूपमा लिन नमिल्ने निष्कर्ष निकालेका हुन् ।

बैठकमा स्वयम् प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको’ सुनाएका थिए । उनले विकल्प खोज्नुपर्ने अवस्थासमेत देखिएको बताएका थिए ।

“हामीले कांग्रेसलाई पहिलो पार्टी बन्न सघायौं, निरन्तर सहयोग गर्‍यौं तर, हामीलाई पटक–पटक धोकामात्रै भइरह्यो”, बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले भनेका छन्, “निरन्तरको धोकाले गम्भीर बनाएको छ, गठबन्धनबारे नै सोंच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।”

केन्द्रीय समिति बैठकमा कांग्रेससँगको गठबन्धन गर्दा जटिलता देखिएको सुनाएका प्रचण्डले एमालेसँग पुनः सहकार्य हुनसक्ने संकेत पनि गरेका छन् । मंगलबार पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग नजिक हुन सक्ने भनी आवश्यक परे एमालेसँगको सहकार्यका लागि तयार रहन नेता/कार्यकर्तालाई राजनीतिक सन्देश दिएका हुन् ।

प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई हेर्दा, सत्ता गठबन्धनभित्र गम्भीर संकट उत्पन्न भएको देखिन्छ । यद्यपि, प्रचण्डले सार्वजनिक भाषणमा तत्कालै गठबन्धन फेर्ने अवस्था नरहेको पनि बताएका छन् । तर, उनको राजनीतिक भाषालाई हेर्दा, माओवादी वर्तमान गठबन्धनको विकल्प खोज्ने अवस्थामा पुगेको देखिन्छ ।

अहिले सत्ता गठबन्धनभित्र एकातिर संक्रमणकालिन न्यायलगायतका विषयलाई कसरी टुंग्याउने भन्ने सन्दर्भमा किचलो छ भने अर्कोतिर लगत्तै हुँदै गरेको राष्ट्रियसभाको अध्यक्ष को बन्ने भन्ने विषय पनि पेचिलोपूर्ण बनिरहेको छ । राष्ट्रियसभाको अध्यक्षको पदमा कांग्रेस र माओवादी दुवैले अडान लिएका छन् ।

यसबीच गठबन्धनभित्र आगामी प्रधानमन्त्री को बन्ने चर्चा पनि चल्न थालेको देखिन्छ । कांग्रेसका शीर्ष तहका नेताहरूले गठबन्धन निर्माणका बेलामा भएको आलोपालो सहमतिबारे बोल्न थालेका छन् ।

आम निर्वाचनअघि बनेको कांग्रेस–माओवादी गठबन्धन निर्वाचनको परिणामपछि सरकार गठनको बेलामा २०७९ पुस १० मा तोडिएको थियो भने सरकार गठनको बेलामा बनेको एमाले–माओवादी गठबन्धन पुनः राष्ट्रपतिको निर्वाचनको बेलामा तोडिएको थियो । त्यसयता कांग्रेस–माओवादी गठबन्धनले सत्ता चलाइरहेको छ ।

सम्बन्धित समाचार

‘गठबन्धनको विकल्प खोज्ने’ भाषा किन बोल्दैछन् प्रचण्ड ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट