फिल्म जुधाइएपछि फिल्म निर्माताबीच घोचपेच, रेखाप्रति आक्रोशित बने नवल-Sutra News

फिल्म जुधाइएपछि फिल्म निर्माताबीच घोचपेच, रेखाप्रति आक्रोशित बने नवल

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । अभिनेता नवल खड्काले फिल्महरु जुधाइएको विषयमा आक्रोश पोखेका छन् । फिल्म ‘काँडेतार’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो फिल्मसँग अन्य फिल्म जुधाउन ल्याएको भन्दै आक्रोश पोखेका हुन् ।



उनले विकास बोर्डको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।

विशेषगरी ‘काँडेतार’ फिल्मसँगै हलहरुमा ‘उपहार’ र ‘रंगेली’ फिल्म लाग्दैछन् । उपहार रेखा थापाको फिल्म हो भने रंगेली अरुण सुवेदीको फिल्म हो ।

दुवै फिल्म काँडेतारका लागि प्रतिस्पर्धी हुन् । यस्तोमा हलमा सँगै हुँदा व्यापारमा सकस हुने देखिएको छ । जसप्रति खड्का आक्रोशित बनेका हुन् ।

उनले विशेषगरी अमेरिकामा सन्तान जन्माउन पुगेकी रेखा थापाप्रति लक्षित गर्दै आक्रोश व्यक्त गरेका छन् ।

“देशलाई माया नगर्नेहरु, देशलाई डेरा बनाउन चाहनेहरु नै फिल्म जुधाउन आएका छन्, उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ पत्ता लगाउनुहोस्, उनीहरू कोबाट संचालित छन् ? हामी यही देशमा बस्न पर्छ, सन्तान यही जन्माउन पर्छ र यो देशलाई सुनौलो भविष्य सुम्पन पर्छ भन्ने मान्छे हौं”, खड्काले थापाप्रति लक्षित गर्दै भनेका छन्, “हामी पलायन हुने वा कुनै अमुक देशमा गएर बच्चा जन्माउने र नागरिकता लिनेमा पर्दैनौँ ।”

एक वर्ष अगाडि नै सेन्सर गरेर आफ्नो फिल्मले प्रदर्शन मिति तोकेको खड्काले बताएका छन् । यस्तोमा फिल्महरु जुधाउन ल्याउने कुरा नियतजन्य भएको उनको आरोप छ ।

“मसँग सेन्सर नै पास नभएका फिल्महरू जुध्न आएका छन्, उहाँहरूको चाहना र यो देशप्रतिको दायित्व कत्तिको बोध गर्नु भएको छ ? राज आउ देश बचाउ भन्नेहरूसँग म कुनै पनि बहस गर्न चाहन्नँ ।”, उनले भनेका छन् ।

फिल्म काँडेतारले विकास बोर्डबाट उत्कृष्ट कथाको आधारमा यसअघि नै १० लाख पुरस्कार पाइसकेको छ । निर्माण पक्षले जनाएअनुसार फिल्मको कथा राष्ट्रियताको विषयमा केन्द्रीत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट