बारम्बार कलाकारमाथि किन भइरहेको छ आक्रमण ?-Sutra News

बारम्बार कलाकारमाथि किन भइरहेको छ आक्रमण ?

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । शनिबार साँझ स्याङ्जाको वालिङमा गायक तथा मोडल दुर्गेश थापामाथि जुता प्रहार भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं वालिङ महोत्सवमा प्रस्तुति दिने क्रममा उनलाई दर्शकबाट जुता प्रहार भएको हो ।



सार्वजनिक भिडियोमा दुर्गेशमाथि स्पष्टरूपमा जुत्ता हानिएको देख्न सकिन्छ । तर, उक्त जुत्ता प्रहारलाई लिएर दुर्गेशले त्यस्तो केही नभएको भनेर स्पष्टीकरण दिए । यो त भयो हालसालको कुरा हाे तर, दुर्गेशलाई जस्तै नेपालका थुप्रै कलाकारले बारम्बार स्टेजमा दर्शकदीर्घाबाट यस्तै खाले प्रहार खानु परेको छ ।

कहिले जुत्ता, कहिले बोतल त कहिले ढुङ्गा नै प्रहार भएका घटनाको थुप्रै नजिर बसिसकेको छ । पछिल्ला केही समयदेखि कलाकारहरू स्टेज कार्यक्रममा त्यति सुरक्षित नरहेको देखिएको छ । केही समय अघि ज्योति मगर स्टेजबाट नाँच्दा नाँच्दै स्टेज भासिएको कुरा अझै ताजा नै छ ।

गायिका एलिना चौहान पनि स्टेज पीडित नै हुन् । उनले आफ्नो ब्रेकअपको समाचार फैलिएको क्रममा मिडियालाई गाली गर्दै स्टेजमा भएको दुर्व्यवहारलाई फेसबुकमा लामो स्ट्याटस लेख्दै सेयर गरेकी थिइन् ।

उनले अस्ति भर्खरै पोखराको एक कार्यक्रमबारे भनेकी छिन्, ‘मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो, नत्र उहाँहरूले चाहेसम्म गाएको गाएकै गर्न निर्देश गरियो, हाम्रै संगीत क्षेत्रको अभिभावकले । त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोज्यो र मैले त्यसको तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ती हैन र ? यस्ता कुरामा सजक हुनुपर्ने हैन र ?’

अरुपनि धेरै छन् जसमा सञ्चारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुन सक्छ भन्दै उनले आफूले स्टेजमा भोगेका दुखलाई साटेकी थिइन् ।

यस्तै, गायक प्रकाश सपुतलाई विदेशको एक सांस्कृतिक कार्यक्रममा बोतल प्रहार भएको कुरा पनि हामीले अझै भुलेका छैनौँ ।

गायक सपुतमाथि केही महिना अगाडि रोमानियामा प्रस्तुति दिने क्रममा बोतल प्रहार भएको थियो । एक जना फ्यानले उनीमाथि बोतल प्रहार गरे । बोतल प्रहार भएपछि सपुत निकै नै तनावमा देखिएका थिए । उनले मिडियासँग कुराकानी गर्दै आफूलाई उक्त घटनाले विक्षिप्त बनाएको बताएका थिए ।

यो कुराले निकै ठूलो विवादको रूप लिए पनि पछि ती बोतल प्रहार गर्ने व्यक्तिले गायक प्रकाश सपुत सँग माफी मागे सँगै यो कुरा सेलाएको थियो ।

यता सुगम पोखरेले त उल्टै दर्शकलाई नै माइकको झटारो हानेको थिए । अस्ट्रेलियामा भएको कार्यक्रममा उनले यस्तो गतिविधि गरेका हुन् ।

गायक पोखरेलले साङ्गीतिक कार्यक्रमको सिलसिलामा मदिरा पिएर दर्शकमाथि नै माइक प्रहार गरेका थिए । पछि टिकटकमार्फत सुगमले माफी त मागे तर, पनि सुगमको उक्त व्यवहारको चर्को आलोचना भएकाे छ ।

साथै, अर्का चर्चित गायक राजेश पायल राई कै कुरा गर्ने हो भने पनि अवस्था उस्तै छ । उनको ब्याक किक्क घटना भर्खर सेलाउँदै छ भन्दा फरक पर्दैन । तर, उक्त भिडियो धेरै अगाडिको भएकाले र ती किक खाने व्यक्ति उनका नजिकका भाइ भएकाले त्यो मायाले गरियो भन्ने निष्कर्षसँगै त्यो कुरा टुङ्गियो । उनै राजेशको दुई वर्ष अघिको अर्को घटना पनि ताजै छ ।

अमेरिकामा आयोजना भएको नयाँ वर्षको कार्यक्रममा प्रस्तुति दिने क्रममा गायक राईमाथि आक्रमण भयो । उनलाई गीत गाइरहेको समयमा स्टेजमै एक जना व्यक्तिले आक्रमण गरे ।

उनलाई त्यसबेला समर्थकले पछाडिबाट आएर अँगालो हालेको भन्दै घाँटी नै न्याकिएको थियो । त्यो घटना पनि मेलमिलाप मै सुताइयो ।

यता, डेढ वर्ष अगाडि गायिका समीक्षा अधिकारीमाथि पनि स्टेजमा गीत गाइरहेको समयमा ढुङ्गा प्रहार भयो । सङ्खुवासभामा गीत गाउन स्टेज चढेकी उनीमाथि ढुङ्गा प्रहार भएको थियो ।

यस्ता थुप्रै घटना छन् जसले महोत्सव देखि सांस्कृतिक साँझ सम्म रमाइलो गराउन उपस्थित हुने कलाकारहरूलाई बदनाम गराइरहेका हुन्छन् । गायक–गायिकाहरू स्टेज कार्यक्रममा असुरक्षित र विवादित बनिरहेका छन् । जसले, उनीहरूको प्रतिष्ठामा आँच आउने गर्दछ ।

कलाकारले दर्शकलाई आफू भन्दा माथि राखेर स्टेज चढ्छन्, तर ती नै दर्शकबाट यस्तो व्यवहार गर्नुले आफैमा अस्वाभाविक ठहर्‍याई दिन्छ ।

विशेषगरी, फ्यानसँग उनीहरूले गर्ने व्यवहार र फ्यानले उनीहरूलाई गर्ने व्यवहारका कारण कलाकारहरू असुरक्षित बनिरहेका थुप्रै घटनाबाट प्रष्ट हुन्छ ।

यस्ता घटना घट्नुपूर्व आयोजकले आफ्नो सुरक्षा व्यवस्थालाई चुस्त नपार्नु एउटा कारण मान्न सकिन्छ, अर्को आयोजकले घटना घटिसकेपछि आफ्नो बदनाम हुने भन्दै कारबाहीको दायरामा नलगी मेलमिलाप गरादिनुले बारम्बार यस्ता घटना दोहोरिइरहेकै हुन्छन् । कमसेकम यस्ता घटना घट्दा आयोजकले दोषीलाई कारबाहीको ढोकासम्म पुर्‍याइदिए दर्शकहरूको यसरी कलाकार माथि दुर्व्यवहार गर्ने आँट सोच आउँदैन थियो होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट