‘गठबन्धनको विकल्प खोज्ने’ भाषा किन बोल्दैछन् प्रचण्ड ?-Sutra News

‘गठबन्धनको विकल्प खोज्ने’ भाषा किन बोल्दैछन् प्रचण्ड ?

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारदेखि जारी छ । बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने अभियानसहित समसामयिक राजनीति र आगामी विधान महाधिवेशनबारे छलफल चलेको छ ।



बैठकमा सत्ता गठबन्धनको विषयमा पनि समीक्षा भएको छ । केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा कांग्रेसबाट लगातार धोका भइरहेको बताएका छन् । कोशी घटनालाई जोडेर अध्यक्ष प्रचण्डले गठबन्धनको समीक्षा गर्ने ठाउँमा माओवादी पुगेको बताएका छन् ।

“हामीले कांग्रेसलाई पहिलो पार्टी बन्न सघायौं, निरन्तर सहयोग गर्‍यौं तर, हामीलाई पटक–पटक धोकामात्रै भइरह्यो”, बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले भनेका छन्, “निरन्तरको धोकाले गम्भीर बनाएको छ, गठबन्धनबारे नै सोंच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।”

विशेषतः कोशीमा विकास भइरहेको सत्ता राजनीतिबाट माओवादी केन्द्रलाई गठबन्धनको समीक्षा गर्ने अवस्थामा पुगेको कुरा प्रचण्डले बताएका छन् । जहाँ केन्द्रीय नेताहरु नै माओवादीविरुद्ध खुलेर लागेको प्रचण्डको भनाई छ ।

यसअघि कोशीमा सत्ता गठबन्धनका बीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर, कांग्रेसभित्रको चलखेलपछि माओवादी केन्द्रले सरकारको नेतृत्व पाएन ।

अहिले फेरि राष्ट्रियसभाको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की पराजित भइन् । गठबन्धनभित्र बहुमत हुँदाहुँदै पनि माओवादी उम्मेदवार पराजित भएपछि माओवादीभित्र असन्तुष्टि चुलिएको छ ।

राष्ट्रियसभाको परिणामपछि माओवादी केन्द्रभित्र अनौपचारिक समीक्षा भएको थियो । जसमा नेताहरुले गठबन्धनबारे समीक्षा गर्नुपर्ने सुझाव पार्टी अध्यक्ष प्रचण्डलाई दिएका थिए ।

कोशी घटनालाई लिएर गठबन्धनभित्र समीक्षा पनि भएको थियो । तर, उक्त समीक्षाबाट माओवादी केन्द्र सन्तुष्ट छैन ।

राष्ट्रियसभा अध्यक्ष नछाड्ने दाउ

राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनकै बेला गठबन्धनभित्र राष्ट्रियसभाको अध्यक्षसहित अन्य विभिन्न विषयमा पनि मोटामोटी छलफल भएको थियो । जुन छलफलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई आगामी अध्यक्षको रुपमा अगाडि सार्ने सहमति भएको नेताहरु बताउँछन् । जसलाई स्वयम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि सार्वजनिकरुपमा भनेका छन् ।

तर, कोशीको पछिल्लो धोकाधडीपछि माओवादी उक्त सहमतिलाई कार्यान्वयन गर्ने पक्षमा देखिएको छैन । उसले राष्ट्रियसभाको अध्यक्ष आफूले पाउनुपर्ने सर्त अघि राखेको छ ।

राष्ट्रियसभाको अध्यक्षको रुपमा अघि सार्न खोजिएका सिटौलालाई मन्त्री दिने प्रस्ताव माओवादी केन्द्रले यसअघि नै राखेको छ । गठबन्धनभित्रको छलफलको क्रममा स्वयम् पार्टी प्रचण्डले यस्तो प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन क्रममा प्रचण्डले गठबन्धनको समीक्षा गर्नुपर्ने अवस्थामा पुगेपनि गठबन्धन टुटाउने विषय सहज नभएको कुरा भने खुलाएका छन् । “सहकार्य सजिलो भइरहेको छैन, यसको अर्थ अहिले नै गठबन्धन टुटाउने विषय पनि सहज छैन”, उनले भनेका छन् ।

जसको प्रष्ट अर्थ माओवादी केन्द्र राष्ट्रियसभाको अध्यक्षमा बारगेनिङ्ग गर्ने अस्त्रको रुपमा आफूमाथि भएको धोकाधडीलाई प्रयोग गर्ने योजनामा पुगेको छ ।

राजनीतिक विश्लेषक पनि पछिल्लो पटक प्रचण्डले बोलेको भाषा कांग्रेसलाई त्रर्साउँदै साइजमा राख्ने योजनामा आधारित रहेको बताउँछन् ।

“अहिले कांग्रेस जसरी पनि राष्ट्रियसभा अध्यक्ष नछाड्ने लाइनमा छ, सत्ताको नेतृत्व गुम्दाको दिन माओवादीसँग कुनैपनि महत्वपूर्ण अंगमा आफ्ना मान्छे नहुने अवस्था बन्छ”, विश्लेषक मुकुन्द आचार्यले भनेका छन्, “माओवादी गठबन्धन तोड्ने पक्षमा छैन तर, राष्ट्रियसभाको अध्यक्षमा कसरी आफ्नालाई सेट गर्ने भन्ने योजना प्रचण्डले बुनेका छन् । अहिलको भाषा नितान्तः बारगेनिङ्गका निम्ति हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट