पाकिस्तानको राजनीतिमा सेना फेरि ‘किङ्गमेकर’, इमरान पक्षको भविष्य अन्योलमा-Sutra News

पाकिस्तानको राजनीतिमा सेना फेरि ‘किङ्गमेकर’, इमरान पक्षको भविष्य अन्योलमा

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । पाकिस्तानको आम निर्वाचनको नतिजा आएको छ । नतिजामा सबै घेराबन्दीका बाबजुद इमरान खानको पार्टी पीटीआई पक्षधर समूहले सबैभन्दा धेरै सिट जितेको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार पीटीआई समर्थकहरुले १०१ सिट जितेका छन् ।



नवाज सरिफको पार्टी पीएमएल–एनले ७५ सिट जितेको छ भने बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीले ५४ सिट जितेको छ ।

पाकिस्तानमा २६५ विधानसभा सिटका लागि निर्वाचन भएको थियो । यस्तो अवस्थामा बहुमतको आँकडा १३३ हो तर, कुनै पनि एक दलले बहुमत ल्याउन सकेनन् ।

बहुमत नल्याएको अवस्थामा फेरि पाकिस्तानको राजनीतिमा सेना नै किङ्गमेकर बनेको छ । सेनाले यसअघिदेखि नै नवाज शरीफ नेतृत्वको पीएमएल–एनलाई आफ्नो कित्तामा उभ्याइरहेको छ ।

नतिजापछि सेनाको रोहवरमा नवाज शरीफ र बिलावल भुट्टो जरदारीको पार्टीबीच गठबन्धनका लागि वार्ता सुरु भएको छ । यस्तो अवस्थामा सबैभन्दा बढी सिट जितेपनि बहुमत ल्याउन नसकेको इमरान खान र उनको पार्टीको भविष्य अन्योलमा परेको सञ्चार माध्यमले लेखेका छन् ।

पाकिस्तानमा फेरि एकपटक सेना किङ्मेकर बन्ने र पर्दा पछाडि सेनाले नै सरकार चलाउने अवस्था बनेको सञ्चार माध्यमले लेखेका छन् ।

इमरान खानको पक्षमा अथाह जनसमर्थन

इमरान खान अहिले जेलमा छन् र उनको पार्टीका नेताहरुमाथि कारबाही पनि भइरहेको छ । निर्वाचनको बेला इमरान खान पक्षधरलाई एकातिर चुनाव चिन्ह बिहीन बनाइएको थियो भने अर्कोतिर चुनावी ¥याली तथा कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको थियो ।

चौतर्फी घेराबन्दीपछि पीटीआई समर्थक नेताहरूले स्वतन्त्र रूपमा लुकेर चुनाव लडेका थिए ।

यद्यपि, चौतर्फी घेराबन्दीका बाबजुत पीटीआई समर्थकले नै सबैभन्दा धेरै सिट जिते । जनताले अथाह आस्था र प्रेम खानप्रति देखाए ।

निर्वाचन आयोगले कतिपय खान पक्षधरले जितेका ठाउँमा पुनः निर्वाचनसमेत गराएको थियो । यद्यपि, अथाह समर्थन प्राप्त गरेपनि अंकगणित देखाउन नसकेको कारण खान पक्षधरको अवस्था के हुने अन्योल छ ।

पाकिस्तानमा अब के होला ?

चुनावी नतिजा आएपछि नवाज शरीफको पार्टी र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको बारेमा वार्ता भइरहेको छ तर, अन्तिम निर्णय भने भइसकेको छैन । यद्यपि, पाकिस्तानको राजनीति बुझ्नेहरू विश्वास गर्छन् कि पाकिस्तानी सेना इमरान खान र उनको पार्टीलाई सत्तामा आउन दिन चाहँदैन र यही कारणले गर्दा नवाज शरीफ र बिलावल भुट्टोबीच चाँडै गठबन्धन हुनेछ ।

अन्य दलका नेताहरू पनि यो गठबन्धनमा सामेल हुन सक्छन् र सरकार गठन गर्न सक्छन्, जसको नेतृत्व नवाज शरीफ वा उनका भाइ शाहबाज सरिफले गर्न सक्छन् ।

सेनाको विरोधका कारण इमरान खानको पार्टी पीटीआईले सबैभन्दा ठूलो दल बने पनि सत्ता हात पार्न सकेको छैन । पीटीआईले चुनावमा धाँधली भएको आरोप लगाएर सडकमा उत्रिने घोषणा गरेको भएपनि सेनाको बलियो दबाबका पछि आन्दोलन अगाडि बढ्न जटिल भएको बताइन्छ ।

जसका कारण इमरान खान र उनको पार्टीको भविष्य अन्योलमा परेको देखिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट