इमरानको जबरजस्त उदयपछि पाकिस्तानमा निम्तिएको अर्को अन्योलता…-Sutra News

इमरानको जबरजस्त उदयपछि पाकिस्तानमा निम्तिएको अर्को अन्योलता…

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । पाकिस्तानमा चुनावको जनादेश एकातिर स्पष्ट देखिन्छ भने अर्कोतिर जटिल । चौतर्फी घेराबन्दीका बाबजुद पनि यस चुनावबाट इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा बढी  सिट जितेका छन् । न पार्टी, न चुनाव चिन्ह, न नेता पाएका पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) समर्थितको आगमन जबरजस्त देखिएको छ ।



जति बल प्रयोग गरेपनि जनतालाई दबाउन नसकिने सन्देश यो चुनावले दिएको छ । राज्यका सबै स्रोत र साधनलाई दुरुपयोग गर्दै आफ्नो अनुकुल चुनाव गराएपनि नवाज सरिफको नेतृत्वमा रहेको पीएमएल–एन (पाकिस्तान मुस्लिम लिग) सबैभन्दा ठूलो दल हुनबाट चुक्यो ।

चुनावको नतिजाले पाकिस्तानका जेलमा कोचिएका इमरान खानको पक्षमा जबरजस्त लोकप्रियता देखाएको छ । जुन लोकप्रियता सामाजिक सञ्जालको बबल मात्रै नभएको पनि नतिजाले प्रमाणित गरेको छ ।

चुनावको मुखमा इमरान खान नेतृत्वको पीटीआईका संस्थापकलाई उम्मेदवार हुन नै अयोग्य बनाइएको थियो । उनीहरुलाई एकपछि अर्को मुद्दामा जेल कोचिएको थियो । पीटीआईको क्रिकेट ब्याट चिन्ह पनि चुनावी मतपत्रबाट हटाइएको थियो ।

सिध्याउन खोज्दा उठे इमरान

सन् २०२२ मा इमरान खानलाई जबरजस्ती प्रधानमन्त्री पदबाट हटाइएको थियो । प्रधानमन्त्री पदबाट हटाइएपछि उनीविरुद्ध एकपछि अर्को मुद्दा थोपरिएको थियो ।

यस चुनावमा पीटीआईका उम्मेदवारहरू स्वतन्त्र उम्मेदवारको रूपमा लड्न बाध्य बनाइएको थियो । उनीहरुलाई ¥याली समेत निकाल्न रोकिएको थियो । कोही जेलमा थिए भने कोही गोप्य रूपमा चुनाव लडेका थिए ।

चुनावी अभियान चलाउन खोज्नेलाई एकपछि अर्को गर्दै प्रहरीले धरपकड गरेको थियो । तथापि, यी सबै घेराबन्दकिो बावजुद पीटीआईसँग सम्बद्ध उम्मेदवारहरूले चुनाव लडे र सबैभन्दा बढी सिट जिते ।

पाकिस्तानी मिडियाले जनाएअनुसार शक्तिशाली सेनाको समर्थन रहेको नवाज सरिफ नेतृत्वको पीएमएल–एन अहिलेसम्मको नतिजामा दोस्रो स्थानमा छ । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारीको नेतृत्वमा रहेको तथा पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो स्थानमा छ ।

नतिजापछि थप अन्योलता

नतिजापछि अब के होला ? थप अन्योलता पाकिस्तानभित्र सिर्जना भएको छ । सञ्चार माध्यमले पाकिस्तानमा थप अर्को संकटको सुरुवात भएको विश्लेषण गरेका छन् ।

नतिजामा पहिलो आएपनि बहुमत देखाउन नसकेको स्वतन्त्र उम्मेवादहरुको हैसियत के हुने प्रश्न छ । उनीहरुलाई एकातिर कानुनी उल्झन बनाइएको छ भने अर्कोतिर सत्तामा बागडोरबाट पनि टाढा राख्ने तयारी गरिएको छ ।

कानुनी व्यवस्थाअनुसार उनीहरु तीन दिनभित्र पार्टी रोज्नुपर्ने वा स्वतन्त्र घोषणा गर्नुपर्ने हुन्छ । चुनावी नतिजापछि स्वतन्त्र उम्मेदवारलाई भित्र्याउने चलखेल पनि दुई दल पीएमएल–एन र पीपीपीले गरेका छन् ।

इमरान खानसहित धेरै नेताहरु जेलमा रहेको कारण स्वतन्त्र उम्मेदवारलाई कसले नेतृत्व लिने र कसरी व्यवस्थापन गर्ने चुनौति छ ।

दृश्य पछाडि खेल खेल्दै सेना

पाकिस्तानको चुनावको यी नतिजाबाट ठूलो राजनीतिक प्रश्न पनि उठेको छ । एकातिर सबै शक्ति लगाउँदा पनि सेनाको समर्थित पीएमएल–एन बहुमत त के ठूलो शक्तिसमेत बन्न सकेन भने अर्कोतिर इमरान खान पक्षधर स्वतन्त्र उम्मेदवारले सबै बन्देजहरुलाई असफल बनाइदिए । तथापि, पाकिस्तानी सेना पीएमएल–एनकै नेतृत्वमा सरकार बनाउने तयारीमा जुटेको छ ।

द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टका अनुसार, पाकिस्तानी सेना प्रमुख असीम मुनीरले खुलेरै नवाज शरीफको नेतृत्व सरकार बन्नुपर्ने बताएका छन् । उनले पाकिस्तानको पछिल्लो अवस्थालाई शरीफले नेतृत्व लिनसक्ने बताएका छन् । प्रजातन्त्रका लागि यो आवश्यक भएको उनको भनाई सार्वजनिक भएको छ ।

सेना प्रमुखले शरीफलाई अगाडि ल्याउन चाहिरहेका बेला पाकिस्तानमा अर्को संकटको भने सम्भावनालाई देखाएको विश्लेषकहरुको मत छ । खान समर्थितहरुले चुनावमा धाँधली गराइएको भन्दै प्रदर्शन गर्न सुरु गरेका छन् भने कतिपय खान समर्थितले जितेका ठाउँमा चुनाव आयोगले पुनः मतदान गराउने घोषणा गरेको छ । जिओ न्यूजका अनुसार पन्जाब, सिन्ध विभिन्न स्थानमा पुनः मतदानको तयारी थालिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट