निश्चल बस्नेत भन्छन्- ‘आफूलाई नै फिल्म चित्त नवुझेसम्म रिलिज गर्दिनँ’-Sutra News

निश्चल बस्नेत भन्छन्- ‘आफूलाई नै फिल्म चित्त नवुझेसम्म रिलिज गर्दिनँ’

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडाैं । निर्देशक निश्चल बस्नेतले करिब सात वर्षपछि फिल्म ‘दिमाग खराब’ निर्देशन गरे । विशेषगरि, फिल्मकालागि नयाँ ट्रेन्ड बसाउने खुबी भएका निर्देशक बस्नेत आगामी फिल्म एक्सन प्रदान बनाउने तयारीमा छन् ।



एक्सन जनराको फिल्म निर्देशन गर्ने तयारीमा रहेका उनै निश्चल आफूलाई जबसम्म चित्त बुझ्दैन, तबसम्म आफू निर्देशित फिल्म हलमा नल्याउने बताउँछन् ।

शनिबार फिल्म ‘हात्तीछाप’ हेर्न हलमा पुगेका निश्चलले मिडियासँग कुराकानी गर्दै आफूलाई नै चित्त नबुझेसम्म फिल्म दर्शक सामु नल्याउने बताएका हुन् ।

उनले भने–‘म आफूलाई नै चित्त नबुझेसम्म फिल्म रिलिज गर्दै गर्दिनँ । यसैले, केही नयाँ कुरा त फिल्ममा हुनुपर्छ नै भन्ने मेरो मान्यता छ ।’

यस्तै, निश्चलले फिल्म ‘हात्तीछाप’ले आफूलाई मनोरञ्जन दिएको पनि बताए ।

उनले भने–‘यो फिल्मको धेरै दृश्यमा मलाई रमाइलो लाग्यो । फिल्म अझै राम्रो बनाउन सकिन्थ्यो । यो कुरा मैले निर्देशक सिमोस सुनुवारलाई पनि भने । तर, फिल्म हेरुन्जेल रमाइलो लाग्छ ।’

साथै, निश्चलले नेपाली फिल्म राजनीतिको वरिपरि घुम्नुको पछाडि देशको अवस्था रहेको बताए ।

उनले भने–‘मैले दिमाग खराबलाई राजनीतिक फिल्म भनेर बनाएको नै होइन । अहिले पनि म त्यो फिल्म राजनीतिक फिल्म हो भन्दिनँ । किनकि, यसले एक सामान्य युवाको विद्रोहको कथा भनेको हो । जबसम्म देशको राजनीति सही बाटोमा हिँड्दैन, हरेक नेपाली फिल्मको कथाले यसलाई कतै न कतैबाट छोएको नै हुन्छ । चाहे त्यो एक्सन फिल्म होस् या सामाजिक ।’

निश्चलले आगामी एक्सन फिल्म बारेमा भने, ‘मुख्य कुरा त मलाई अहिले लगानी गर्नेहरूलाई नै विश्वास दिलाउन गाह्रो परिरहेको छ । केही नयाँ कुरा सोचेर नै मैले एक्सन फिल्म बनाउने तयारी गरेको हुँ । त्यो मेरो दिमागमा छ ।’

सँगै रहेकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘हात्तीछाप’ मन परेको बताइन ।

उनले भनिन्, ‘दर्शक र हाम्रो फिल्म हेर्ने नजर्रिया फरक हुन्छ । फिल्म राम्रो छ । सौगत दाइलाई सधैँ फरक हेर्न पाइन्छ, उहाँको काम मन पर्‍यो । अन्य कलाकारहरूको पनि काम राम्रो छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट