केकी अधिकारी भन्छिन्- पोयट आइडलमा म दर्शकको प्रतिनिधि बनेर जज गर्नेछु-Sutra News

केकी अधिकारी भन्छिन्- पोयट आइडलमा म दर्शकको प्रतिनिधि बनेर जज गर्नेछु

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो शो आगामी सोमबारदेखि प्रसारण हुने जानकारी दिइयो ।



पत्रकारहरुको भेटघाटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे। वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको छ।

यसै शोको जजमा अभिनेत्री केकी अधिकारीलाई बनाइएपछि उनको निकै ट्रोल भयो । फिल्ममा अभिनय गर्ने कलाकारलाई कविताको मूल्यांकन गर्ने जिम्मेवारी दिइँदा धेरैले यसलाई ठट्टा सम्झिए । केकी सामाजिक सञ्जालमा तीव्र टीकाटिप्पणी भइरहँदा मौन थिइन् ।

केकीलाई शोको निर्णायक बनाइएको बारे सामाजिक संजालमा भएका टिप्पणीबारे संचारकर्मीले प्रश्न सोधेका थिए । पत्रकार भेटघाटमा केकीले आलोचनाको खण्डन गर्ने प्रयत्न गरिन् । केकीले खण्डन स्वरुप कविताको मूल्यांकन गर्न सक्ने आत्मविश्वास प्रस्तुत गरिन् ।

केकीले फिल्म अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन्। उनले सबैको धारणालाई सम्मान गर्ने बताइन्, ‘जे हुन्छ राम्रैको लागि हुन्छ। म सबैको विचारलाई सम्मान गर्छु। अभिनयसँग सम्बन्धित रियालिटी शो आउँदै गरेको भए हामीले मध्ये कसैले त्यो प्रश्न राख्थ्यो कि।’

यस्तो छ केकीको भनाइ – म एकदमै खुशी र उत्साहित छु । यत्रो ठूलो जिम्मेवारी दिनुभएको छ । म पनि एउटा रियालिटी शोको निर्माण समूहमा छु । साँच्चिकै भन्नुपर्दा यो खालको रियालिटी पनि बन्न सक्छ र रु भन्ने लाग्थ्यो । कमर्सियल रियालिटी शो त धेरै छन्, साहित्य र कविताप्रति मोह जगाउन अभिप्रेरित गर्ने यो रियालिटी शोको अवधारणा आफैँमा फरक हो ।

सिजन २ मा मलाई किन र केका लागि रोजियो भन्ने चाहिँ मभन्दा बेटर अर्गनाइजर टिमे भन्न सक्ला । तर मैले पनि यो प्रश्न सोधेको थिएँ । मैले अमन दाइलाई ह्वाई मि ? भन्दा उहाँले भन्नुभयो, यो एउटा रियालिटी शो हो । दुई वरिष्ठ कवि विप्लव दाइ र उपेन्द्र दाइ पहिल्यै हुनुहुन्छ । उहाँहरूले छन्दका कुराहरू, भावका कुराहरू हेर्नुहुन्छ, वाचन शैली मिले नमिलेको हेर्नुहुन्छ । हामीलाई यस्तो व्यक्ति चाहिएको छ जसले दर्शकको प्रतिनिधित्व गर्न सकोस् । कुनै पनि प्रतियोगीले आफ्नो रचनालाई प्रस्तुत गरेपछि त्यसलाई दर्शक श्रोताले कसरी श्रवण गर्न सक्छन् भनेर शब्दमा व्यक्त गर्न सक्ने खालको जज चाहिएको हो । तिमी मेरो दर्शकको प्रतिनिधि हुन्छौ ।

मैले यो अवसर र चुनौती सहर्ष स्वीकार गरेँ । दिइएको भूमिकालाई इमानदारिताका साथ निर्वाह गर्ने छु । मलाई धेरै दर्शकको साथ चाहिन्छ । सबैभन्दा ठूलो निर्णायक दर्शक हो । दर्शकको प्रतिक्रिया पनि चाहिन्छ । जुन तरिकाका कुराहरू आए, त्यसलाई हामीले सकारात्मक दृष्टिकोणले नै लियौँ । यसले हाम्रो रियालिटी शोप्रति दर्शकहरू कति गम्भीर हुनुहुँदो रहेछ भन्ने पुष्टि भयो ।

साथै, अभिनेत्री अधिकारीलाई कविता रियालिटी शोको निर्णायक बनाइएकोबारे निर्देशक अधिकारीले पनि आलोचनाको खण्डन गरे।

निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताए। यो शो लेखनमा मात्र आधारित नरहेको अमनको भनाइ थियो। उनले भने, ‘केकी अब्बल नायिका हुन्। हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौँ। हामीलाई विश्वास छ, उनले गर्न सक्छिन्। काममा न्याय गर्न सकिछन्। पोएट आइडल लेखनमात्र होइन। यो मिश्रित रियालिटी शो हो।’

उनले दोस्रो सिजनमा कूल एपिसोड संख्या ३० हुने जनाए। ‘पछिल्लो सिजनमा ३३ एपिसोड बनाउँदाको महसुस गर्दा अडिसन राउण्ड लामो भएछ। अडिसन राउण्ड ६ बाट कटाएर ३ मा ल्याएका छौँ। अब ३० एपिसोड हुन्छ। यो प्रमुख चेन्ज हो। यसबाहेक चेन्ज हुँदैन,’ उनले फर्म्याटबारे भने।

सिजन २ लाई अभिनेतासमेत रहेका दिव्यदेवले होस्ट गर्नेछन्। जजमा उपेन्द्र सुब्बा र अनुप बराल पनि हुनेछन्। यो शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट