कम बोल्ने रोतिहले ब्याटिङ र बलिङमा भरेको ‘आवाज’-Sutra News

कम बोल्ने रोतिहले ब्याटिङ र बलिङमा भरेको ‘आवाज’

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल-क्यानडाबीच तीन खेलको शृङ्खलाअन्तर्गत पहिलो प्रतियोगितामा नेपाल सात रनले विजयी भयो । पराजित हुने अवस्थामा पुगेको नेपाली टोली रोमाञ्चक शैलीमा विजयी भएको हो ।



कप्तान रोहित पौडेलले कप्तानी पारी सम्हाल्दा पाहुना टोली क्यानडा स्तब्ध बन्न पुग्यो । खेलमा रोहितले ८.५ ओभर बलिङ गरी २२ रन दिएर चार विकेट लिए । ‘म्यान अफ दि म्यान’ बनेका उनले १७ बल खेलेर जम्मा ८ रन बनाए ।

बिहीबार क्यानडाविरुद्ध उत्कृष्ट बलिङ गरी एकल प्रर्दशनीमा टोलीलाई विजयी गराएका रोहितले ब्याटिङतर्फ अनेकौँ विश्व कीर्तिमान बनाएका छन् । ब्याटिङतर्फ उनले कम उमेरमा शतक र अर्धशतक बनाउने रेकर्ड बनाएका छन् ।

यस्तै, विश्वमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीको कप्तान बन्ने इतिहास पनि रोहितकै नाममा छ । उनी विं.सं. २०७९ कातिक २५ गते राष्ट्रिय टोलीका कप्तानमा नियुक्त भएका थिए । कप्तान नियुक्त हुँदा उनी २० वर्ष ७३ दिन भएका थिए ।

कप्तान बन्न रोहितलाई भाग्यले भरपूर साथ दियो । नेपाली क्रिकेट टोलीमा घटेका अनेक घटना क्रमले कलिलै उमेरमा उनले कप्तानको जिम्मेवारी पाए । कप्तान भएपछि उनले जटिल परिस्थितिमा टोलीलाई जिताएको धेरै उदाहरण छन् ।

खेलको परिस्थितअनुसार आफूलाई ढाल्न सक्ने रोहित ब्याटिङमा धैर्यता गर्छन् । बलिङमा कसिलो र आक्रमक बन्छन् । ब्याटिङमा कति धैर्य गर्न सक्छन् भन्ने कुरा उनले पपुवा न्युगिनीविरुद्ध बनाएको १२६ रनको शतकीय इनिङ्गले देखाउँछ ।

यस्तै, गत वर्ष कीर्तिपुरस्थित त्रिवि मैदानमा विश्वकप लिग २ मा उनकै कप्तानीमा नेपालले सबै चार खेल जितेर शृङ्खलामा ‘क्लीन स्वीप’ गरेको प्रतियोगिताले देखाएको थियो । यस प्रतियोगिता विजयी गराउन उनले दुई अर्धशतकसहित अहम भूमिका खेले ।

स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा टिम हारको नजिक पुगेको अवस्थामा रोहितले अविजित ९५ रन जोडे । उनको ब्याटिङ प्रदर्शनीका कारण नेपाल विजयी भएको थियो ।

उनको खेल कौशललाई लिएर १० वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका सोमपाल कामीले भविष्यबारे टिप्पणी गर्दै आएका छन् । यस्तै, क्रिकेट विश्लेषण तथा क्रिकेटप्रेमीहरूले पनि आआफ्नो धारणा राख्दै आएका छन् ।

सोमपालले भने, ‘पहिला पारस दाइसँग खेलेँ, अहिले म रोहित पौडेलसँग खेल्न गइरहेको छु, मलाई चाहिँ एकदम ‘प्राउड फिल’ भइरहेको छ, किनकी जतिखेर उसको डेब्यु थियो, ऊ राम्रोसँग बोल्दा पनि बोल्दैन थियो ।’

सोमपालले भनेजस्तै रोहित कम बोल्छन् । खेलमा होस् वा साथीभाइसँग बस्दा होस् धेरै कुरा हाँसेर टारिदिन्छन् । यसअघिका खेलमा उनको बोलीलाई ब्याटले आवाज भर्दै आएको थियो । अब उनको बोलीलाई बलिङले पनि साथ दिएको देखिन्छ ।

भर्खर २१ वर्ष लागेका रोहितको कप्तानीमा नेपाली क्रिकेटले धेरै उपाधि र इतिहास रचिसकेको छ । यो धेरै लामो समयसम्म जाने निश्चित बन्दै गएको छ । ‘उसले लिड गरिरहेको छ नेपाललाई, आई होप अझै उसले नेपाललाई १०-१५ वर्ष लिड गर्छ’ सोमपालले भने जस्तै रोहितले नेपाली क्रिकेटलाई लामो समय लिड गर्न सक्ने दाबी पेश गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट