हलमा लागे ‘हात्तीछाप’, ‘दयारानी’ र ‘तेरी बातों में ऐसे उल्झा जिया’-Sutra News

हलमा लागे ‘हात्तीछाप’, ‘दयारानी’ र ‘तेरी बातों में ऐसे उल्झा जिया’

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबारबाट नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपाली भाषाका दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’, हिन्दी भाषाको ‘तेरी बातों में ऐसे उल्झा जिया’ रिलिजमा आएका हुन् ।



नेपाली फिल्ममा सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’ र माओत्से गुरुङले निर्देशित ‘दयारानी’ रहेका छन् । फरक स्वादका यी दुई फिल्ममा पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने दयाहाङ राईले अभिनय गरेका एकसाथ प्रदर्शन हुँदैछन् ।

कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई समेटिएको फिल्म हात्तीछापमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । यस्तै, फिल्म ‘हात्तीछाप’मा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ ।

फिल्मलाई वीग मुभिजले ६ शोज दिएको छ । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।

रेड बर्ड प्रोडक्सनले निर्माण गरेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ। देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

यस्तै, अर्को फिल्म ‘दयारानी’ रहेको छ । फेमिली, रोमान्स र ड्रामा जनरामा रहेको यो फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्नीको भूमिकामा छन्। यो फिल्ममा सन्तान नभएपछि दम्पतीमा उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ।

‘दयारानी’ देशभरका विभिन्न हलमा ११३ शो रिलिज हुँदै छ । यसलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४, आइएनआइले १२ शो दिएका छन् ।

त्यसैगरी, रञ्जना सिनेपेलेक्स, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट छन् ।

यस्तै, अर्को बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री कृति सेनन अभिनीत फिल्म ‘तेरी बातो में ऐसा उलझा जिया’ रहेको छ ।

अमित जोशी र आराधना शाहले निर्देशन गरेको फिल्मलाई दिनेश भिजनले निर्माण गरेका छन्। यो फिल्ममा कृति र शाहिदको रोमान्टिक अवतारमा देख्न सकिन्छ। कृतिले पहिलोपटक रोबर्ट पात्रको भूमिका निर्वाह गरेकी छन्।

तपाईंहरूलाई यी फिल्म मध्य कुन फिल्म तपाईंहरूको रोजाइको र मन परेको छ भने आफ्नो इच्छा अनुरूप हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट