लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी : अर्थमन्त्री-Sutra News

लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी : अर्थमन्त्री

बिहिबार, २५ माघ २०८०

बिहिबार, २५ माघ २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताएका छन् ।



अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिए ।

अर्थमन्त्री डा. महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि लगानी सम्मेलन आयोजना गरिएको बताए ।

लगानी सम्मेलनको निर्देशक समितिका संयोजकसमेत रहेका अर्थमन्त्री डा. महतको संयोजकत्वमा सम्पन्न सो बैठकमा लगानी सम्मेलनलाई लक्षित गरी तयार भएको नीति, कानून तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल भएको थियो ।

मन्त्री डा. महतले आगामी जुनमा विश्व बैंकको सहुलियतदरमा ऋण दिने संस्थाले (आइडी)को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेकोसमेत जानकारी दिए । “औपचारिक पत्र केही दिनमा आउँदै छ, अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने छ, विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधिको सम्मेलनमा सहभागी रहने छ,” उनले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले लगानी सम्मेलनलाई लक्षित गरी हालसम्म विभिन्न क्षेत्रका एक सय पाँच वटा योजना वर्गीकृत भइसकेको जानकारी दिए । निजी क्षेत्रबाट समेत थप योजना आउने प्रतिबद्धता आइरहेको उनको भनाइ थियो ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. कोषराज पाण्डेले विदेशी लगानीलाई सहज ढंगले भित्र्याउने र लगानी सुरक्षित बनाउने वातावरण तयार गर्नु पर्नेमा जोड दिए । लगानीका लागि सहज वातावरण बनाउ सके सम्मेलनको सार्थकता थप बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट