बाँसबारीपछि तारागाउँको जग्गाबारे अनुसन्धान, होला त कारबाही ?-Sutra News

बाँसबारीपछि तारागाउँको जग्गाबारे अनुसन्धान, होला त कारबाही ?

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल खोलेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एकपछि अर्को गर्दै अन्य फाइल पनि खोल्न थालेको छ । बाँसबारीको फाइलमाथि अनुसन्धान चलिरहेकै बखत सीआईबीले काठमाडौंको बौद्धस्थित तारागाउँ विकास समिति जग्गाबारे अनुसन्धान सुरु गरेको छ ।



तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हायात रिजेन्सी होटलको नाममा नामसारी हुँदा अनियमितताको आशंका गरिएको छ । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले तारागाउँ विकास समितिको स्वामित्वमा रहेको जग्गको सम्बन्धमा प्रश्न उठाएको थियो ।

सम्झौतामा नै समितिको जग्गा ह्यात होटल सञ्चालन गरिरहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाममा हस्तान्तरण हुने व्यवस्था राखिएको भन्दै सतर्कता केन्द्रले संशोधन गर्न भनेको थियो । सतर्कता केन्द्रले प्रश्न उठाएपछि सीआईबी सक्रिय बनेको हो ।

बाँसबारीकै शैलीमा जग्गा हिनामिना

पर्यटकीय पूर्वाधार खडा गर्न भन्दै सरकारले २०३४ सालमा तारागाउँ विकास समिति गठन गरेको थियो । त्यही समितिले राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ समूहसँग बौद्धमा होटल र पर्यटकीय केन्द्र स्थापित गर्ने सम्झौता गरेको थियो ।

२०४८ साल पुस १० गते भएको सम्झौता अनुसार समितिले आफ्नो स्वामित्वमा रहेको १५० रोपनी जग्गा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका नाममा हस्तान्तरण गरेको थियो । । होटल स्थापनाका लागि समिति र उक्त समूहले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड नामक कम्पनी खोलेका थिए । अहिले त्यो कम्पनीले बौद्धमा ह्यात ब्राण्ड प्रयोग गरेर होटल सञ्चालन गरिरहेको छ ।

१५० रोपनी जग्गा प्रति रोपनी १० लाख रुपैयाँका दरले कम्पनीलाई दिने सम्झौता भएको थियो । उक्त मूल्य बराबरको रकम तारागाउँ विकास समितिले शेयर लगानी गर्ने सम्झौता पत्रमा उल्लेख थियो ।

तर प्रजातन्त्र पुनस्र्थापनाको केही वर्षमा नै तारागाउँ विकास समितिका पदाधिकारीहरुको मिलेमतोका कारण लिजमा दिएको जग्गाको स्वामित्व नै हस्तान्तरण भएको बताइन्छ । जसबारे सर्तकता केन्द्रमा उजुरी परेपछि सीआईबी तातेको हो ।

सीआईबीले एकपछि अर्को गर्दै यस्ता प्रकरणका फाइलहरु खोलिरहेको छ । तर, फाइल खोलिएपनि कमजोर आधारहरुका कारण मुद्दा प्रक्रिया तुहिने वा दोषीहरु छुट्ने गरेको पाइन्छ । पछिल्लो प्रकरणको फाइलमाथि पनि यस्तै आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट