

काठमाडौं । निर्देशक तथा कलाकार निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई तीन रोपनी जग्गा दान दिएका छन् ।
निश्चलले इलाम नगरपालिका १ साखेजुङ्गमा रहेको आफ्नो नामको पुर्ख्यौली जग्गा दान दिएका हुन् ।
मङ्गलबार मालपोत कार्यालय इलाम पुगेर बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जग्गा आधारभूत स्वास्थ्य सेवा उपकेन्द्र साखेजुङ्गका नाममा दान दिएको इलाम नगरपालिका १ का वडा सचिव लोचन भट्टराईले बताए ।
निश्चलले आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको प्रतिक्रिया दिएका छन् ।
मालपोतमा जग्गा दान गरिसकेपछि उनले भने, ‘हाम्रो घर यही साखेजुङ हो, बुबा बसाइँ सरेर जानुभए पनि म बाल्यकालदेखि नै बुबा र परिवारसँग साखेजुङ आउजाउ गर्थेँ । अहिले पनि बुबासँगै आएको छु।’
बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ ख ५३ रहेको जग्गा उपकेन्द्रको नाममा पास गरिदिएको जनाएको छ । इलाम नगरपालिका १ का अध्यक्ष गायत्रीराम बस्नेतले बाटोसँगै जोडिएको जग्गा भएकोले स्वास्थ्य संस्था निर्माण सहज हुने बताए ।
अध्यक्ष बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए ।
उनले भने, ‘उनले प्रदान गरेको जमिन बाटोसँगै जोडिएकाले पनि मूल्यवान् र उपयोगी छ । साँघुरो रहेको स्वास्थ्य उपकेन्द्र अब सुविधाजनक हुनेछ ।’
अध्यक्ष बस्नेतले जग्गा प्राप्तिको लागि दाता खोजी गरिरहेको बताउँदै निकट भविष्यमा सुविधाजनक स्वास्थ्य संस्था निर्माण गरिने बताए ।