प्रिमियरमा ‘हात्तीछाप’ हेरेपछि कसले के भने ?-Sutra News

प्रिमियरमा ‘हात्तीछाप’ हेरेपछि कसले के भने ?

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडाैं । फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुका केएल टावरस्थित एफक्यूब सिनेमाजमा प्रिमियर शोको आयोजना गरिएको थियो ।



शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको प्रिमियरमा फिल्मकर्मी, पत्रकार र फिल्मका कलाकारहरूको उपस्थिति रहेको थियो ।

फिल्म हेर्न निर्देशक दिवाकर भट्टराई, ज्ञानेन्द्र देउजा, शोभित बस्नेत, कृषा चौलागाईं, कलाकार विपिन कार्की, मुकुन भुषाल, नायक तथा मोडल राज कटुवाल, कलाकार रोहित रुम्बा, नायिका रिस्ता बस्नेत, मोडल गरिमा शर्मा, कमेडियन हिमेष पन्तलगाएत उपस्थित रहेका थिए ।

सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म हेरेपछि धेरैले यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । निर्देशक देउजाले फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई दुई घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

यस्तै, निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाईं, नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको तारिफ गरेका छन् ।

फिल्म हेरेपछि केमियो भूमिकामा रहेकी नायिका बेनिशा हमाल भने उत्साहित देखिन्थिन् । बेनिशाले दर्शकलाई यसको कथावस्तु मन पर्ने बताइन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वस्त देखिन्थिन् ।

‘हात्तीछाप’मा ‘बोतल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे ।

फिल्मले विशेष गरी, दयाहाङ राई र सौगात मल्लको आ-आफ्नो कथा भन्न खोजेको छ । यी दुईको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि फिल्म हेर्नु पर्ने हुन्छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका निर्माता पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ हुन् । फिल्मका कार्यकारी निर्मातामा सरोज नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट