सरकारको पत्रमा मेयर बालेन आक्रोशित हुँदा एमालेमा तरंग !-Sutra News

सरकारको पत्रमा मेयर बालेन आक्रोशित हुँदा एमालेमा तरंग !

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मिडिया र सार्वजनिक कार्यक्रममा कमै उपस्थित हुन्छन् । त्यसैले उनी आफ्नो धारणा सामाजिक सञ्जालबाट व्यक्त गर्दै आएका छन् ।



सत्ता र ठूला दलविरुद्ध तिखो अभिव्यक्ति दिँदै आएका मेयर बालेनले सोमबार एकाबिहानै आफ्नो धारणा सार्वजनिक गरे । देशको प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा पार्किङ्गको व्यवस्था हटाएपछि महानगरले धरहरामा बनेको पार्किङ्ग क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

धरहरामा निःशुल्क पार्किङ्गको व्यवस्था गरेसँगै माथिल्लो सरकारी निकाय अर्थात् सहरी विकास मन्त्रालयबाट बन्द गर्न दबाब दिइएको पत्र बालेनको हातमा पुग्यो । पत्रमा महानगरलाई धरहराको पार्किङ्ग बन्द गर्न भनेपछि मेयर बालेन संघीय सरकार र तत्कालिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित बनेका हुन् ।

“करिब तीन वर्षअघि उद्घाटन भइसकेको धरहराबाट पार्किङ्ग हटाउ भन्न सरकारलाई लाज लाग्दैन ? सर्वसाधरणलाई सुविधाका लागि खुला गरिएको पार्किङ्ग बन्द गर्नु भन्दै पत्र लेख्नुको औचित्य के हो ?” भन्दै बालेनले प्रतिप्रश्न गरेका छन् ।

“केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ्ग खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ, पार्किङ्ग बन्द गर्नु”, मेयर बालेनले भनेका छन्, “उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?”

यस्तै, मेयर बालेनले निर्माण पूरा नहुँदै वि.सं. २०७८ वैशाख ११ गते शनिबार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले किन धरहराको उद्घाटन गरे भन्दै आक्रोश पोखेका छन् । “२०७८ वैशाख ११ शनिबार अर्थात आजभन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो, सोही उदघाटनलाई काठमाडौंका तत्कालिन मेयर विद्या सुन्दर शाक्यले आज एक ऐतिहासिक काम सम्पन्न भएको छ भने”, उनले भनेका छन्, “राणा कालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।”

यस क्रममा उनले भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन गर्ने प्रवृतिलाई भ्रष्टाचारको नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन सबैसँग आग्रह गरेका छन् । यस्तै, पार्किङ्ग बन्द नहुने भन्दै उनले थपेका छन्, “पार्किङ्गको ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ, हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।”

मेयर बालेनको अभिव्यक्तिसँगै संघीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले महानगरसँग नराम्रो हुने धम्कीपूर्ण चेतावनी दिन भ्याइन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिदै गर्दा पत्रकारसँग बोल्दै उनले धरहराको काम बाँकी भएको बताएकी थिइन् । यस्तै, समन्वय गरेर मात्रै पार्किङ्ग खुला गर्नु पर्नेमा एकलौटी निर्णय गरेको दाबी गरिन् ।

“निर्माण सम्पन्न नभई महानगरले जबरजस्त रूपमा पार्किङ्ग गर्नु विधिको शासन उल्लघंन हो, समन्वय र छलफल नगरी एकलौटी रूपमा पार्किङ्ग गर्नु सान्दर्भिक हुँदैन”, मन्त्री गुरुङले थपिन्, “महानगरले पत्रलाई प्राथमिकता दिएको छैन, यसरी नै जाने हो भने राम्रो परिणाम हुँदैन ।”

मेयरको अभिव्यक्तिले एमालेमा तरंग

धरहराको निर्माणमा भएको ढिलाइबारे काठमाडौंका मेयर बालेनले सरकार र तत्कालीन प्रधानमन्त्री ओलीलाई लक्षित गरी प्रश्न गरेका थिए । उनको अभिव्यक्तिसँगै एमाले नेताहरू आक्रोशित भएका छन् ।

भूमिगत पार्किङ्ग रोक्न सहरी विकास मन्त्रीले पत्र पठाएसँगै आक्रोशित बनेका मेयर बालेन पूर्वप्रधानमन्त्री ओलीमाथि खनिएपछि एमाले नेताहरु प्रतिकारमा उत्रिएका हुन् । एमाले नेताहरूले धरहराको काम पूरा भएसँगै ओलीले उद्घाटन गरेको दाबी गर्न भ्याएका छन् ।

मेयर बालेनले “दुई वर्ष ९ महिनाअघि केपी ओलीले किन धरहराको उद्घाटन गरे ?” भन्दै प्रश्न गरेका थिए । “महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो– नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ? भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ”, सरकारको पत्रविरुद्ध बालेनले भनेका छन् ।

बालेनको अभिव्यक्तिबाट बच्नका लागि एमाले महासचिव शंकर पोखरेलले ओलीले धरहरा निर्माण कार्य सम्पन्न भइसकेपछि उद्घाटन गरेको दाबी गरे । “तत्कालीन प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो, जसको निर्माण कार्य उतिबेलै सम्पन्न भइसकेको छ, अरु परियोजनाको काम सरकारले परिवर्तनका कारण विलम्ब भएको छ”, उनले भनेका छन्, “तर, निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ ।”

यस्तै, उनले धरहरा निर्माणको विरोध गर्नु दूरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेहरुका लागि स्वभाविक भएको बताए । उनले नयाँ स्वरूपमा निर्माण गर्नका लागि पाँच भागमा विभाजन गरेको बताउँदै धरहराको निर्माण पूरा भएको बताएका थिए ।

महासचिव पोखरेलसँगै एमालेका सचेतक महेश बर्तौलाले भूकम्पले बनाएको भग्नावशेषमा धरहरा साढे दुई वर्षअघि नै निर्माण सम्पन्न भएको दाबी गर्न भ्याए ।

सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग बोल्दै उनले भने, “धरहरा बनाएबापत गाली गर्नुहुन्छ भने गर्नुस्, तर पार्किङ्ग गर्ने विषयमा झगडा गरेर शक्ति खर्च नगर्नुस्, बरु पार्किङ्गका लागि दुई वर्षमा केही काम गर्न नसकेको कमजोरी स्वीकार गरेर आफैँले गर्नु पर्ने काम गर्नुस्, झगडा र जस पाउने होडबाजीले काम हुँदैन ।”

यस्तै, एमाले नेता गोकुल बाँस्कोटा धरहरा उद्घाटन गरेका ओलीको बचाउमा उत्रिए । तपाईंहरुलाई समापन नभएको धरहरा उद्घाटन गर्न उत्रो हतार किन भएको भन्ने प्रश्नमा उनले भने, “त्यसको मूल काम सकिएको थियो, रंग रोगन गर्न बाँकी थियो, त्यो त अर्को वर्ष पनि गरिन्थ्यो नि गरिदैन र ?”

सरकारदेखि ठूला दलका नेताहरु एउटा मेयरको निर्णयमा मैदानमै उत्रिएर प्रतिकार गर्नु आफैमा लज्जाको विषय हो । देश विकासको काम गर्ने शैली र त्यसमा सरकारले नै कति हस्तक्षेप गर्छ भन्ने ज्वलन्त उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट