कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाउने प्रस्ताव, यी हुन् दिनभरका मुख्य खबर-Sutra News

कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाउने प्रस्ताव, यी हुन् दिनभरका मुख्य खबर

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

१. आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवम् प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उद्घोष । आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवम् आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने भनाइ ।



२. राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादी दुवैको दाबी, कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी

३. नेपाली कांग्रेसको महासमिति बैठकका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन । पार्टी सभापति एवम् महासमिति बैठक मूल तयारी समितिका संयोजक शेरबहादुर देउवाले बैठकका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरी संयोजकहरु तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जानकारी ।

४. जिल्ला अधिवेशनको विवाद बढेर कुटाकुटसम्म पुगेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाए । अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी ।

५. आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि काठमाडाैं महानगरका मेयर बालेन शाहको निर्देशनमै डोजर चलाइयो । खेलकुद पार्क बनाउने भनिएको जग्गामा टहरा बनेपछि डोजर चलाइएको काठमाडाैं महानगरपालिकाद्वारा जानकारी ।

६. विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घोषणा । मेलम्चीबाट विकास आयोजनाबाट दबाब अभियान सुरु गर्दै २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने जानकारी ।

७. फुटपाथ व्यापारीहरुले आज पनि गरे काठमाडौं महानगरपालिका मेयर बालेन शाह विरुद्व प्रदर्शन । शान्तिबाटिकाबाट जुलुससहित प्रदर्शन गरेका उनीहरुले काठमाडौं प्लाजा पुगेर दिए धर्ना । काठमाडौंको सडकमा ब्यापार गर्न दिनुपर्ने माग ।

८. रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल । सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल भएको प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा जानकारी ।

९. वर्तमान सरकारले हाई प्रोफाइल सहकारी ठगलाई छानबिनको दायरामा समेत ल्याउन नसकेको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको रवि लक्षित कटाक्ष । हाई प्रोफाइलका सहकारी ठगहरू अनेक नौटङ्की र बहानाबाजी गरेर हिँडिरहेको आरोप ।

१०. सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी आक्रामक रुपमा प्रस्तुत हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको दाबी । वडा, पालिका, प्रदेशमा रास्वपाका जनप्रतिनिधि नभएको र संघमा सरकार बाहिर रहँदा समेत रास्वपाका सांसद नै बुलन्द रहेको जिकिर ।

११. प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक । सोमबार ४ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र सभामुखले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको संसद सचिवालका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेद्वारा जानकारी ।

१२. पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको पिडितको गुनासो । लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगे अहिलेसम्म उजुरी दर्ता नभएको गुनासो ।

१३. साताको पहिलो कारोबार दिन नै ओरालो लाग्यो सेयर बजार । ५.३१ अंकले घट्यो नेप्से । ३ अर्ब २१ करोडको मात्र सेयर खरिदबिक्री बजारमा विकास बैंक, फाइनान्स, लगानी र निर्जीवन बीमा उपसमूह सकारात्मक बन्दा अरु सबै उपसमूह राताम्मे ।

१४. बैकिङ कसुर सम्बन्धी मुद्दामा ४ करोड जरिवाना र तीन वर्षको कैद सजाय तोकिएकी एक महिला ९ वर्षपछि पक्राउ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीया मन्दिरा केसी कार्की रहेको र शनिबार बनेपाबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेस गरिएको सीआईबीद्वारा जानकारी ।

१५. साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा भुटान विरुद्व नेपालको कठिन जित । आइतबार बंगालदेशमा भएको खेलमा भुटानमाथि संघर्षपूर्ण १-० गोलको जित निकाल्दै, नेपालले ‍आगामी मंगलबार भारतको सामना गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट