धादिङ विवाद : अधिवेशन स्थगित गरी ओलीलाई भेट्न आए नेताहरू-Sutra News

धादिङ विवाद : अधिवेशन स्थगित गरी ओलीलाई भेट्न आए नेताहरू

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०
uml

काठमाडौं । धादिङमा जिल्ला अधिवेशनको विवाद चुलिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला नेताहरूलाई काठमाडौं बोलाएका छन् । अध्यक्ष ओलीले केन्द्रीय पार्टी कार्यालयमा जिल्ला नेताहरूसँग छलफल गरेका छन् ।



अधिवेशन छाडेर जिल्ला नेताहरू काठमाडौं आएपछि भोलि बिहान ८ बजेसम्म अधिवेशन स्थगित हुने गरी सूचना सार्वजनिक भएको छ । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए ।

एमाले प्रदेश अध्यक्षको सूचना जारी भएसँगै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले हस्तक्षेप गर्दै अधिवेशन स्थगित नभएको सूचना जारी गरेका थिए । एउटै अधिवेशनाबारे दुई नेताहरूले आआफ्नै तरिकाले सूचना जारी गरेका हुन् ।

अधिवेशनको विवाद अध्यक्ष मण्डल चयन गर्ने विषयबाट सुरु भएको थियो । ‘बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेशहरू, कतिपय नीतिगत निर्णयहरू, बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डललगायत विभिन्न समितिहरूमा रहने नेताहरूको नाम र जिल्ला कमिटीबाट पाँच प्रतिशत मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो,’ ढुंगेलले भने ।

अध्यक्ष मण्डलको चयनका लागि दुई पक्षले आआफ्नो तवरबाट नेताहरू छनोट गरेपछि विवाद भएको हो । अध्यक्ष मण्डलबाहेक प्रतिनिधि चयनमा विवाद देखिएको थियो । तर, छलफल गरेर यसमा पनि सहमति जुटाइएको नेताहरु बताउँछन् ।

दुई पक्षबीच भएको लडाइँमा एक कार्यकर्ताको हात भाँचिएको छ । कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट