चौधरी पक्राउको तरंग : शीर्ष नेताबीच बाक्लियाे ‘अस्वभाविक’ भेटवार्ता-Sutra News

चौधरी पक्राउको तरंग : शीर्ष नेताबीच बाक्लियाे ‘अस्वभाविक’ भेटवार्ता

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा हडेको आरोपमा व्यापारिक घरानिया चौधरी समूहका अरुण चौधरी र अन्य केही पक्राउ परेपछि केन्द्रीय राजनीतिमा समेत बेग्लै तरंग उत्पन्न भएको छ । एकातिर दलहरुभित्र छलफल बाक्लिएको छ भने अर्कोतिर शीर्ष नेताहरुबीच अस्वभाविक शैलीमा भेटवार्ता चल्न थालेको छ ।



प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगी अरुण चौधरीसहित तीन जनालाई बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा बिहीबार पक्राउ गरेको थियो । चौधरीलगायतलाई पक्राउ गरिएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै भेट्न उनकै निवास वालुवाटार पुगेका थिए । झण्डै एक घण्टा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका देउवाले त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका थिए ।

स्रोतले बताएअनुसार प्रचण्ड र पौडेललाई भेटेपछि सभापति देउवाले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई समेत सोही राति भेट्न पुगेका थिए ।

देउवाले भेटघाट गर्नुलाई एक ढंगले सामान्य मान्न पनि सकिन्छ । चौधरी समूह राजनीतिक हिसाबले कांग्रेस निकट देखिन्छ । अरुणका दाई विनोद चौधरी कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको रुपमा छन् । सकारात्मक कोणबाट हेर्दा पनि, चौधरीको आग्रहमा देउवाले प्रधानमन्त्रीलगायतसँग छलफल गरे होलान् भन्न सकिन्छ ।

तर, चौधरी पक्राउपछिको परिदृश्यमा देउवा मात्रै सक्रिय देखिएनन् एमाले अध्यक्ष केपी शर्मा ओली पनि उसैगरी भेटवार्ता गर्न तात्तिए । ओली शुक्रबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्ष पुगेका थिए ।

भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल भएको बताइएपनि अन्तर्यमा विषय अन्य नै भएको जानकार बताउँछन् । दुईबीच लामो समय छलफल चलेको थियो ।

यसअघि पनि यस्तै प्रकरण सतहमा आउँदा विशेषगरी तीन नेता एक्लाएक्लै र सामूहिक छलफलमा जुट्ने गरेका थिए । जसको निरन्तरताको रुपमा अहिलेको घटनालाई धेरैले चिरित्र गरेका छन् ।

बाँसबारी जग्गा प्रकरणमात्रै होइन, सरकारले अन्य भ्रष्टाचार र हिनामिनाका फाइललाई पनि बढाएको छ । अहिले सतहमा टेरामक्स प्रकरण देखिन्छ । जसमा राजनीतिक उच्च नेतृत्व तह जोडिएको पाइन्छ ।

प्रत्येक प्रकरणमा मिलेमतो

प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को गर्दै ठूला प्रकरणका फाइल खोलिरहेको छ । देखिँदा सरकारले उच्च तहकै व्यक्तिमाथि कारबाही प्रारम्भ पनि गरेको छ । तर, फाइलहरुमाथिको छानबिन प्रक्रिया र अदालती प्रक्रियालाई हेर्दा कारबाही होइन, चोख्याउने ढंगबाट अभ्यासहरु भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलगायत पक्राउ परे । तर, प्रकरणमा जोडिएका अन्य उच्च तहका थुप्रै पात्रहरु जोगिए ।

बिडम्बनाको विषय, न्यायालयको ढोकासम्म पुग्दा आरोपित पनि थुप्रै छुटे । जोगिए ।

सोही शैली, ललिता निवास प्रकरणमा पनि देखियो । जहाँ पनि उसैगरी मुख्य आरोपितहरुले छुट पाए । दोषी देखिएका पनि थुप्रै कमजोर मुद्दा प्रक्रियाका कारण छुटे ।

अहिलेको बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा पनि सोही शैलीमै मुद्दा अगाडि बढ्ने धेरैको आकंलन छ । एकातिर मुद्दा उठाएको जस्तो पनि देखिने र अर्कोतिर कारबाही नभई चोख्निने अवस्था देखिन्छ ।

सबैभन्दा रोचक विषय, प्रत्येक प्रकरणमा सतहमा आउँदा तीन नेता (प्रचण्ड, देउवा र ओली)बीच भेटवार्ता बाक्लिने गरेको छ । कहिलेकाहीँ दिनमै दुई पटकसम्म पनि भेटवार्ता भएका छन् ।

जसबारे राजनीतिक तहबाटै आलोचना भएको पाइन्छ । बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरण सतहमा आइरहँदा नेताहरुबीच बाक्लिँदो भेटवार्ता पनि सोही दिशातिर संकेत गरेको छ ।

दौडधुपमा विनोद चौधरी

जग्गा प्रकरणको सुरुवाती चरणलाई हेर्दा, भाई अरुण चौधरीभन्दा मुख्य दोषीका रुपमा कांग्रेस सांसदसमेत रहेका दाई विनोद चौधरी देखिन्छन् । कारखानाको १० रोपनी जग्गा चौधरी समूहले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेड हुँदै आफ्नो नाममा ल्याउने खेल २०४३ सालतिरै गरेको थियो ।

तत्कालिन समय दाजुभाई सँगै सहकार्यमै थिए । च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडको मुख्य नेतृत्व दाई विनोद चौधरीले नै गरेका थिए ।

तत्कालिन समय कम्पनीको शेयरधनीको रुपमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । तर, अहिले सो कम्पनी अरुण चौधरी र उनको श्रीमति शिला चौधरीको स्वामित्व छ ।

सुरुवाती चरणमा मुख्य नेतृत्व गरेर जग्गा हत्याएका दाई विनोद चौधरीमाथि कुनै छानबिन तथा अनुसन्धान नभई भाईमात्रै पक्राउ पर्नुलाई भने धेरै शंकास्पद मान्न सकिन्छ । ललितानिवास र नक्कली भुटानी प्रकरणमा पनि यस्तै प्रकृतिका खेलहरु भएका थिए ।

भाईको पक्राउपछि चौतर्फी प्रश्न उठिरहेका बेला दाई विनोद चौधरी भने सक्रिय बनेका छन् । उनले नेताहरुसँगको भेटवार्तालाई बढाएका छन् ।

पक्राउ परेलगत्तै पत्रकार सम्मेलन गराएका चौधरीले भोलिपल्ट (शुक्रबार) कांग्रेस नेताहरुलाई भेटेर असन्तुष्टि जनाएका थिए । उनले “प्रधानमन्त्री र गृहमन्त्रीज्यूले म र मेरो परिवारमाथि प्रतिशोध साँधेको” भन्दै सार्वजनिकरुपमा विरोध पनि जनाएका छन् ।

स्रोतले बताएअनुसार विनोद चौधरीको आग्रहपछि नेताहरु प्रचण्डलाई भेट्न पुगेका हुन् ।

सम्बन्धित समाचार

अख्तियारले जोगाएको चौधरी समूह सीआईबीको फन्दामा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट