प्रसाईंलाई लिएर राप्रपाभित्र विवाद, लिङ्देन नै अल्पमतमा पर्ने संकेत !-Sutra News

प्रसाईंलाई लिएर राप्रपाभित्र विवाद, लिङ्देन नै अल्पमतमा पर्ने संकेत !

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

काठमाडाैं । देशमा राजसंस्था पुनर्स्थापना गर्ने भन्दै राजनीतिको रोटी सेकिरहेको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक विवादको भूमरीमा फसिरहेको छ । कोशी प्रदेशको सभामुख लिने वा नलिने भन्ने विवाद बढ्दै जाँदा राप्रपाको विवाद पेचिलो बन्दै गएको छ । पछिल्लो समयमा लिङ्देन नेतृत्वको राप्रपासहित, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले अलग-अलग रूपमा राजसंस्था फिर्ता ल्याउने अभियानको नेतृत्व गरिरहेका छन् ।



प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले त आगामी फागुन १ गतेबाट राजसंस्था फिर्ता ल्याउने अभियानको उद्घाटन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहले नै दीप प्रज्वलन गरेर सुरु हुने प्रसाईंको आन्दोलनमा लिङ्देन नेतृत्वको राप्रपाका महामन्त्री धवल शमशेर राणा र अर्को राजावादी खेमाको नेतृत्व गरिरहेका कमल थापाले समेत साथ दिने भएपछि लिङ्देन नेतृत्वको राप्रपा राजावादी समूहको मुलधारबाट कर्नरमा धकेलिने देखिएकाे छ । सँगै पछिल्लो समय राप्रपामा लिङ्देनसँग असन्तुष्ट महामन्त्री धवलशमशेर समूहले प्रसाईंलाई साथ दिने भएपछि लिङ्देनको छट्पटी त बढेको छ नै विवाद पेचिलो बन्दै गए पार्टीमा फुटसमेत आउन सक्ने संकेत देखिएको छ ।

यसअघि मंसिर ७ गते नै बैंक तथा वित्तीय संस्था पीडितलाई लिएर शक्ति प्रदर्शनमा उत्रिएका प्रसाईंलाई बैंक फ्रड भएको छुद्र टिप्पणी गर्दै कुनै महत्व दिएका थिएनन् । तर, अहिले परिस्थिति फेरिएको छ, लिङ्देन नेतृत्वकै राप्रपाका महामन्त्री धवल शमशेरले शनिबार भएको राजावादी समूहको एक भेलालाई सम्बोधन गर्दै प्रसाईं र आफू एक भएको घाेषणा गर्दै प्रसाईंलाई अंगालो हालेका थिए । जुन घटनाले लिङ्देन नेतृत्वको राप्रपामा भूकम्प नै गएको हाे ।

पछिल्लो समयमा लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा असन्तुष्ट समूहको नेतृत्व महामन्त्री धवल शमशेर राणाले गरिरहेका छन् । राणालाई उपाध्यक्ष रविन्द्र मिश्रदेखि, पुरानो पुस्ताका राप्रपाका नेता प्रकाश चन्द्र लोहनीदेखि अहिलेको युवा पुस्ताका नेता ज्ञानेन्द्र शाहीसम्मको साथ छ । यसले पनि लिङ्देनको संकट बढाएको छ ।

आफैंले बैंक फ्रड घोषणा गरेका प्रसाईं नेतृत्वको आन्दोलनमा एक भएर जाने घोषणा गरेका महामन्त्री धवलशमशेर राणालाई कारबाही गर्ने ल्याकत लिङ्देनले राखेनन् भने उनको राजनीतिक असफलता ठहरिने छ भने महामन्त्री राणालाई कारबाही गर्न खोजे पार्टी फुटको जोखिम उठाउन तयार हुनुपर्ने विडम्बनापूर्ण परिस्थिति लिङ्देनको अगाडि उपस्थित छ ।

राप्रपाको महामन्त्री राणा निकट नेताहरूलाई विश्वास गर्ने हो भने यतिबेला पार्टीभित्र लिङ्देन आफैं अल्पमतमा छन् ।

अहिले विशेषगरी पार्टी केन्द्रीय समितिको निर्णय अनुसार राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र कायम गराउने सवालमा आन्दोलनमा जाने वा नजाने भन्ने विवाद कायमै छ । पार्टी अध्यक्ष लिङ्देननै सत्ता राजनीतिबाट बाहिरिएर आन्दोलन होमिन तयार नभएको असन्तुष्ट नेताहरूको आरोप छ ।

तर, पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको ठगीविरुद्ध आन्दोलनको नेतृत्व गर्दै कट्टर राजावादी बनेका दुर्गा प्रसाईंको आन्दोलनलाई सहयोग गर्ने वा नगर्ने विवाद चलिरहेकै बेला प्रसाईंलाई महामन्त्री राणाले अंगालो हालेपछि राप्रपाको विवाद उत्कर्षमा पुगेको बुझ्न कठिन छैन तर, यो विवादको अन्त्य कहाँ गएर टुंगो लाग्छ त्यो हेर्न भने अझै केही समय प्रतीक्षा गर्नुको अर्को विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट