चौतर्फी दबाबले तनावमा देउवा-Sutra News

चौतर्फी दबाबले तनावमा देउवा

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवामाथि उनकै पार्टीका नेताहरुले दबाब दिन थालेका छन् ।



नेकपा एमालेले अर्थमन्त्री शर्मामाथि बजेट निर्माण प्रकृयामा अनाधिकृत व्यक्तिको संलग्नता र उक्त घटना लुकाउन सिसिटिभी फुटेजसमेत डिलिट गरेको आरोप लगाउँदै आइरहेको छ । सो दिनको घटनाको सीसीटीभीको रेकर्ड नै गायब गरिएपछि अर्थमन्त्री शर्मा थप विवादमा तानिएका हुन् ।

साथै एमालेले अर्थमन्त्री शर्माको राजीनामा समेत माग गरेको छ । यसैबीच आलोचित भइरहेका अर्थमन्त्री शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले पनि दबाब बढाएका छन् । देउवानिकट उपभापति पूर्णबहादुर खड्कादेखि उपसभाति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइरालासम्मले शर्माको कारबाहीको लागि दबाब दिन लागेको बताइएको छ ।

कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा राखेका छन् । उनले भने – ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ ‘

यस्तै उपसभापति गुरुङले पनि छानबिन समिति गठनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । यस्तै महामन्त्री गगनकुमार थापाले पनि अर्थमन्त्री शर्माले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । उनले केही दिनअघि भनेका थिए ‘अर्थमन्त्री विवादमा मुछिनु भएको छ, उहाँले तत्काल राजीनामा दिनुपर्छ ‘

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पनि अर्थमन्त्री शर्मामाथि छानबिन गर्न माग गरेका छन्। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी जनतालाई दिनुपर्छ,’ उनले भने।यस्तै शेखर कोइरालाले पनि राज्यविरुद्ध गम्भीर अपराध गरेको भन्दै अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने बताइसकेका छन् । सार्वजनिक पदमा बसेको व्यक्ति विवादित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।

यस्तै एमालेनिकट युवा संघ नेपालले पनि अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरिरहेको छ । मंगलबार पनि युवा संघ नेपालले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको थियो । चैतर्फी रुपमा राजीनामाको मागपछि माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका शर्मालाई  बर्खास्त गर्नेकी के गर्ने  प्रधानमन्त्री देउवा तनावमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट