वर्षाले गाईघाट बजार डुबान हुँदा करोडौंकाे क्षति-Sutra News

वर्षाले गाईघाट बजार डुबान हुँदा करोडौंकाे क्षति

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

गए रातिको भारी वर्षाका कारण सदरमुकाम गाईघाट बजार डुबानमा पर्दा करोडौंको धनमाल क्षति भएको छ। बजारको मुख्य चोकदेखि असारी लाईन मदन भण्डारी लोकमार्ग दायाँबायाँ पसेको पानीले खाद्यान्न पसल र होटल, लुगा कपडा पसललगायत व्यापार व्यवसायमा ठूलो क्षति गरेको हो।



घर पसलमा पानी पस्दा तीनदर्जन बढी होटल, दुई दर्जन बढी खाद्यान्न पसल, गुडिया पसल, कपडा र फेन्सी, टेलर तथा सब्जी पसलहरु घण्टौं डुबानमा परेका थिए। शुक्रबार साँझ ६ः०० बजेदेखि परेको मुसलधारे वर्षाले मध्यरातिदेखि घर जलमग्न बनाउन थालेको थियो। विस्तारै बढ्दै गएको पानी घरभित्र घुँडा हुँदै कम्मरसम्म पुगेपछि रातभर गुहार माग्दै बस्नु परेको स्थानीय पेशल दाहालले बताए। उनका अनुसार भुईतला पानीले पुरै भरिएपछि पुरै परिवार माथिल्लो तलामा गएर बस्नु परेको थियो।

दाहालकै घर नजिक सीताराम घिमिरेको घरको सटर भाडा लिएर गुडिया व्यवसाय गर्दै आएकी एनुका राईको पानी पसेर झण्डै १५ लाख बराबरको क्षति भएको छ। साँझ दोकान बन्द गरेर कोठा गएकी उनी विहान पसल खोल्न आउँदा घुँडाघुँडा जमेको पानीले भुईमा राखेका गुडिया, गुडिया बनाउने कपडा, धागो, कस्मेटिक सामानलगायत बिक्रीका वस्तु सबै भिजेर काम नलाग्ने अवस्थामा पुगेको राईले बताईन्। अगाडि सटर मात्र भएको र पछअगाडि सटर मात्र भएको र पछाडि निकास जाने ठाउँ नभएका कारण रातिदेखि विहानसम्म पानी जम्दा धेरै क्षति हुन पुगेर उनलाई पीडा भएको छ।

त्यस आसपासका झण्डै २ अढाईसय हाराहारी पसल कवलहरुमा राति नै पानी पसेर व्यवसायमा व्यापक क्षति गरेको अर्का व्यवसायी सोनामसिंह दनुवारले बताए। खाद्यान्न पसल सञ्चालक दनुवारको जस्तै अन्य तीनदर्जन हाराहारी चामल पसल र गोदामहरु सबै डुबानमा परेर क्षति हुन गएको दनुवारले बताए। पानीले भिजेको चामल, दाल, चिनीलगायत अन्य खाद्यान्नका बोराका बोरा सामान र लत्ता कपडा व्यापारीहरुले दिनभर सुकाए पनि काम नलाग्ने अवस्थामा पुगेर अपुरनीय क्षति भएको पीडितहरुको भनाई छ।

दुई/तीन तले घरमा बस्नेहरुका लागि गाह्रो नभए पनि भुईतला मात्र भएका घरमा बस्ने र भाडावालहरु मध्ये निन्द्रामा कोठाभरी पानी भरिएपछि यता न उताको अवस्थामा पुगेका थिए। असारीलाईनस्थित रत्न श्रेष्ठको घरको भुईतलामा भाडा लिएर बसेकी सरिता मगरको ३ जनाको परिवार मस्त निन्द्रामा कोठाभरी पानी भरिएपछि बाँकी रातभर अनिदो बस्नु पर्‍यो। कोठाभरी पानी भरिएर ओछ्यानसम्म भेट्न थालेपछि सुत्ने ठाउँ पनि नभएको, छाडेर हिड्न पनि आँगनभरी पोखरी जमेकाले जाने ठाउँ कतै नहुँदा छटपटिदै रात काट्न परेको उनले बताईन्। बल्ल विहान भएसँगै पानी रोकिएपछि सास आएको बताउने मगरका अनुसार घरधनी श्रेष्ठ परिवार भने माथिल्लो तलामा गएर रात कटाएको थियो।

स्थानीयका अनुसार असारी लाईनमा यसरी डुबान भएको चाहि यो नै पहिलो घट्ना हो।  असारीलाईनमा आफ्नै घरमा व्यवसाय गर्दै आएका गोविन्द खत्रीले बितेको २५ वर्षमा पहिलोपटक यसरी घरमा पानी पस्नुमा मदन भण्डारी लोकमार्ग हो। पहिलेको सडकभन्दा झण्डै डेढफिट अग्लो गरी निर्मित लोकमार्गका कारण बजारमा डुबानको यस्तो समस्या आएको उनी बताउँछन्। लोकमार्ग बनेपछि पहिलेका निकासहरु सबै बन्द भएको र घरहरु होचो बन्न पुगेकाले डुबानको समस्या आएको खत्रीले बताए। भारी वर्षा हुँदा बरुवाधार र बोक्से क्षेत्रबाट संकलित ठूलो परिमाणको भेल सडक होचो जमिन हुँदै सडकमा जम्मा भएर निकास नपाउँदा घर पसलमा पसेर डुबान हुन पुगेको उनले बताए।

असारी लाईन एउटा प्रतिनिधिस्थल मात्र हो। वर्षा बढेपछि गाईघाट बजार वर्षेनी डुबानमा पर्ने गरेको छ। डिएमगेट, हिमालय लाईन, बाबारानी मार्ग क्षेत्र पनि उत्तिकै डुबान हुने ठाउँहरु हुन्। निकास नराखी बाक्लो संख्यामा घरहरु निर्माण हुनुले यस्तो समस्या आउने क्रम वर्षेनी बढ्दै गएको स्थानीय भरत चामलिङ बताउँछन्। उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्षसमेत रहेका राईका अनुसार बजारीकरण गर्दा बिना इन्जिनियरिङ निकास नराखी जथाभावी घर निर्माण गर्नाले यस्तो समस्या आईपरेको उनले बताए। बजारक्षेत्रको आवादी बाक्लो हुँदै गएको, मदन भण्डारी लोकमार्ग बनेको तर, सडकबाट निकास जाने नालाहरु पुराना र साँघुरा हुनु तथा धेरैजसो होचो हुनुले समस्या आउनु स्वभाविक भएको उनले बताए।

त्रियुगा उद्योग बाणिज्य संघका अनुसार डुबानका कारण गाईघाटमा मात्र ३ करोड ५० लाखबढीको क्षति भएको छ। संघका अध्यक्ष रमेश रसाईलीले धेरै व्यापारीहरुको पसल व्यवसाय डुबानले क्षति गरेको बताएका छन्। सातादिनयता निरन्तरजस्तो वर्षा भईरहनुले दिनहुँ क्षति हुँदै गएकोमा शनिबार विहानसम्मको वर्षाले धेरै संख्यामा पसल, होटल र खाद्यान्न गोदाम डुबान हुँदा क्षतिको आकार ह्वात्तै बढेको रसाईलीले बताए। एकातिर निरन्तर वर्षाले व्यापार व्यवसाय चौपट हुँदै गएको र अर्कातिर डुबानले क्षति गर्दा व्यापार क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको अध्यक्ष रसाईलीको भनाई छ।

त्रियुगा नगरपालिकाले बजारक्षेत्रको यो घट्नाको अनुगमन गर्दै नगरबासीलाई सान्त्वना दिएको छ। शनिबार मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले नगरबा बिभिन्न ठाउँको अनुगमन गर्दै आगामी दिनमा यस्तो समस्या आउन नदिन नगरपालिकाले आवश्यक योजना बनाउन तयारी थाल्ने आश्वासन दिएका छन्। उनीहरुले बिपतका बेला नगरपालिकालाई खवर गर्न आग्रह गर्दै नगरले बिपत व्यवस्थापन समिति र प्रशासन, प्रहरी परिचालन गरेर जनताको सहयोग गर्ने बताएका छन्। नागरिक दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट