सुदूरपश्चिममा नबिल एसईई प्रमाणपत्र कार्यक्रमको सुरुवात, सयौं युवाहरूलाई उद्यमशील बनाउन मद्दत पुग्ने-Sutra News

सुदूरपश्चिममा नबिल एसईई प्रमाणपत्र कार्यक्रमको सुरुवात, सयौं युवाहरूलाई उद्यमशील बनाउन मद्दत पुग्ने

शुक्रबार, १७ असार २०७९

शुक्रबार, १७ असार २०७९

काठमाडौं – नबिल बैंकले यस वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसईई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरुवात भएको छ ।



सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसईईका प्रविणतापत्र कक्षाहरू सुरु भएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रेक्टर प्रा. डा. हेमराज पन्तले शुक्रबार एक समारोहकाबीच कार्यक्रमको सुरुवात गरे ।

कार्यक्रममा पन्तले अचेल संस्थाहरूको फाइनान्सियल अडिट जत्तिकै महत्त्वपूर्ण सोसियल अडिट पनि भएकाले नबिल बैंकले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमप्रति आभार व्यक्त गरे ।

यस्तै नबिल बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकले यसवर्षबाट दीर्घकालीन सोचका साथ यो कार्यक्रम सुरु गरेको र यसले सयौं युवाहरूलाई उद्यमशील बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि विभिन्न सामाजिक क्रियाकलापमार्फत सामाजिक उत्तरदायित्व निभाउँदै गर्दा त्यो क्षणभरलाई मात्रै हुने बताउँदै उनले यसपल्ट युवाहरूलाई नै उद्यमशील बनाउन यो कार्यक्रम लन्च गरिएको जनाउँछन् ।

वर्षभरि नै चल्ने यस कार्यक्रममा सहभागिताका लागि एसपीए कलेजले यसअघि नै खुला आवेदन आह्वान गरेको थियो । जसमा १०० भन्दा बढी आवेदन प्राप्त भएका थिए । जसबाट पहिलो चरणमा प्रमाणपत्र कार्यक्रमका लागि २२ जनालाई सहभागिता रहेको छ ।

आवेदन दिएका बाँकी आवेदकलाई पनि क्रमशः कार्यक्रममा समावेश गरिँदै लगिने कार्यक्रम संयोजक तथा एसपीएका अध्यापक प्रेमराज जोशीले बताए ।

समाजमा सकारात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव सृजना गर्ने, कुनै पनि परियोजनाहरू वा सोचलाई उद्यममा रुपमान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसईई कार्यक्रमको लक्ष्य रहेको नबिल बैंक रातोपुल शाखाका प्रबन्धक तपेन्द्र कुँवरले जानकारी दिए ।

कार्यक्रममार्फत सामाजिक उद्यमशीलता सम्बन्धी विभिन्न विषयवस्तुहरूमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरू उद्यमशील सोच र लगानी योग्य व्यावसायिक योजना गर्न सक्ने हुने विश्वास एसपीए कलेजका प्रमुख योगराज उपाध्यायले विश्वास व्यक्त गरे । कलेज प्रमुख उपाध्यायले नबिल बैंकले यो कार्यक्रमसँग सहकार्यको अवसर दिएकोमा बैंक परिवारप्रति कृतज्ञता ज्ञापन गरे ।

यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरूसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो । नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट