टेक्ससमा बेवारिसे लरीभित्र कम्तीमा ५० जनाको शव, को हुन् मृतक-Sutra News

टेक्ससमा बेवारिसे लरीभित्र कम्तीमा ५० जनाको शव, को हुन् मृतक

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

टेक्सस राज्यको सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको छ। ती शव आप्रवासीहरूको भएको भन्ठानिएको छ।



अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ।

मृत्यु हुनेमा २२ जना मेक्सिकोका नागरिक भएको उक्त देशका विदेशमन्त्रीले पुष्टि गरेका छन्।

त्यस्तै सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको बताइएको छ।

उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ।

लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र ‘हीट स्ट्रोक’ भएको थियो।

सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्।

वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।

“उनीहरूका परिवार थिए… अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए,” सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भने।

“यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन।”

एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरि आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्थ्यो।

केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरीनजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारीचालकको खोजी गर्न थालेका थिए।

सहरको दमकल सेवाका प्रमुख चार्ल्स हुडका अनुसार उक्त लरीमा काम गर्ने वातानुकूलक र खानेपानी थिए।

ट्रक खोलेर हेर्दा शवहरूको थुप्रो देखिएको प्रसङ्ग बताउँदै उनले भने, “त्यस्तो कल्पना नै नगरी हामी यहाँ आएका थियौँ।”

गर्मी याममा सान एन्टोनियोमा खपिनसक्नु गर्मी हुन्छ।

सोमवार त्यहाँको तापक्रम ३९.४ डिग्री सेल्सीअस पुगेको थियो।

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट