आक्रोश र आँसुले एकीकृत समाजवादीमा विद्रोह ल्याउन सक्ने-Sutra News

आक्रोश र आँसुले एकीकृत समाजवादीमा विद्रोह ल्याउन सक्ने

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु हेरफेर गरिसकेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका ४ जनालाई मन्त्रीमा नियुक्त गरिन् ।



नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छन् ।

उनीहरुले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसेकका छन् । तर मन्त्रीबाट हटेका एकीकृत समाजवादीका नेताहरु भने असन्तृष्ट नै छन् । पार्टीले एक्कासी मन्त्री फेरबदलको निर्णय गरेपछि मन्त्री पदबाट हट्न पर्दा केही नेताहरुले असन्तुष्ट व्यक्त गरे ।

सहरी विकासमन्त्रीबाट राजिनामा दिएकी रामकुमारी झाँक्रीले त राम्रो काम गर्दागर्दै हट्नु परेको भन्दै आशुँ नै झारिन् । यस्तै पर्यटनमन्त्रीबाट हटेका प्रेमबहादुर आले पनि पत्रकार सम्मेलन गरी आक्रोश नै पाखे । स्वास्थ्य मन्त्रीबाट हटेका विरोध खतिवडा र श्रममन्त्रीबाट हटेका कृष्णकुमार श्रेष्ठ पनि पार्टीको निर्णयबाट आफूहरु मन्त्री छाड्नुपर्दा असन्तुष्ट छन् ।

मन्त्री पदबाट हटाउने तयारी भइरहदा यी ४ निवर्तमान मन्त्रीहरु पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित समेत भएका थिए । तर संसदीय दलमा बहुमत नपुगेपछि पछि हटे । सरकारमा रहेका मन्त्री फेरबदलको क्रममा एकीकृत समाजवादीमा एक किसिमको हलचल नै मच्चिएको छ । आले र झाँक्री कुनैपनि बेला विद्रोह गर्न सक्ने अनुमान पनि लगाइएको छ ।

किनकी मन्त्री पदबाट राजिनामा दिने क्रममा रोएकी झाँक्रीले एक निजि टेलिभजनमा अन्तर्वार्ता दिंदै आफूले एकीकृत समाजवादीको सदस्यता नलिएको र अहिले पनि एमाले नै रहेको समेत भन्न भ्याएकी थिइन् । मन्त्रीमा रहेर आफूले गरेको काम पार्टीले नदेखेको उनको गुनासो पनि छ ।

उनले पार्टीको बैठकमा मन्त्री हेरफेर बारे गरिएको छलफलमा महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी समेत दिएकी थिइन् । निवर्तमान मन्त्रीहरु काठमाडौंमा भएको बैठकमा अनुपस्थिति जनाएपनि पार्टीमा झन बढी खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट