यस्तो छः नवनियुक्त चार मन्त्रीको पहिलो निर्णय-Sutra News

यस्तो छः नवनियुक्त चार मन्त्रीको पहिलो निर्णय

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

सत्ता गगठबन्धनमा सहभागि नेकपा एकीकृत समाजवादी भित्र ठूलो लफडापछि मन्त्रीहरु फेरिएका छन् । नेकपा एसको निर्णय अनुसार झण्डै एक महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुर्नगठन गरे ।



प्रधानमन्त्री देउवाकै सिफारिसमा संविधानको धारा ७६ (९) तथा धारा ७८ (१) बमोजिम मन्त्रिपरिषद्मा नयाँ सदस्य नियुक्ति र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको थियो । एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हेरफेरको सूची राष्ट्रपति भण्डारीसमक्ष पठाएका थिए । त्यसपछि चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन् ।

जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । नेकपा एसका चारै जना नवनियुक्त मन्त्रीहरुले सपथ लिनुका साथै कार्यभारसमेत सम्हालिसकेका छन् ।

यसअघि उक्त पार्टीबाट प्रेम बहादुर आले पर्यटनमन्त्री, रामकुमारी झाँक्री सहरी विकास मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम मन्त्री र विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए । उनीहरू सरकारबाट बाहिरि सकेका छन् ।

कार्यभार सम्हालेसँगै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दुइटा निर्णय गरेका छन् । उनले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको र त्यसलाई कार्ययोजनाको रूपमै अगाडि बढाउन समिति गठन गरेका छन् । कार्ययोजना बनाएर सात दिनभित्र पेस गर्ने भनिएको छ । यस समितिमा निजी क्षेत्रका विज्ञहरू पनि समावेश गरिएको छ ।

यस्तै, काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने अर्को निर्णय गरेका छन् । र यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने निर्णय गरेका छन् ।

त्यस्तै नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै आफ्नो क्षमता र योग्यताअनुसार काम गर्ने बताएका छन् । छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भएकाले आफूले रफ्तारमा काम गर्ने बताउदै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै अर्का नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले भने ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हाल ग्लोबल फण्डको रकम गैर सरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत खर्च हुँदै आएको थियो ।

पदभार ग्रहण गर्दै मन्त्रि खापुङले क्यान्सर, मुटु, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि बताए । त्यस्तै उनले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने पनि बताए ।

त्यस्तै अर्का नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पहिलो निर्णयका रुपमा आर्थिक वर्ष २०७९÷८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेका छन् । मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे ।

भिडियो पनि-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट