निजी अस्पतालहरुको चेतावनीः बीमा बापतको रकम भुक्तानी नभए सेवा रोकिन्छ-Sutra News

निजी अस्पतालहरुको चेतावनीः बीमा बापतको रकम भुक्तानी नभए सेवा रोकिन्छ

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

सरकारले सम्झौता अनुसार रकम भुक्तानी नगरी लामो समयदेखि रोकेका कारण निजी अस्पतालहरुले सर्वसाधारणहरुको लागि ल्याइएको स्वस्थ्य विमा कार्यक्रम रोक्ने चेतावनी दिएका छन् । झापाको बि एन्ड सी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले पत्रकार सम्मेलन गरेरै स्वास्थ्य बिमा कार्यक्रम रोक्ने चेतावनी दिएका हुन् ।



बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोवेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जानकारी दिए । उनीहरुले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको भन्दै जानकारी दिएका छन् ।

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमा बापतको ४५ करोड रुपैयाँ भन्दा बढि र नोबेलको ५४ करोड भन्दा बढि रुपैयाँ लिन बाँकी रहेको जानकारी दिए । उनले यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपनि अझै बीमा वापतको रकम नपाएको बताए ।

सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ  । प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रुपैयाँ तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ  ।

बि एन्ड सी र नोबेलले पत्रकार सम्मेलन गरेरै स्वास्थ्य बिमा कार्यक्रम रोक्ने चेतावनी दिंदै गर्दा देशका विभिन्न भागमा रहेका निजि अस्पतालहरुले पनि सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पैसा नदिएको गुनासो गर्न थालेका छन् ।

अस्पतालहरुले बिमा सुबिधा सर्वसाधारण लाई निरन्तर उपलब्ध गराउँदै आएपनि सरकारले रकम भुक्तानी रोकिदिंदा औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामग्री कसरी किन्ने, तलब कसरी खुवाउने भन्ने प्रश्न गरेका छन् । यस्तो अबस्था कायमै रहे निजी अस्पतालहरुले छिटै सेवा स्थगित गर्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट