रबी लामिछानेको औपचारीक राजनीतिक यात्रा सुरु, राष्ट्रीय स्वतन्त्र पार्टीको उदय, यस्ता छन् एजेण्डा-Sutra News

रबी लामिछानेको औपचारीक राजनीतिक यात्रा सुरु, राष्ट्रीय स्वतन्त्र पार्टीको उदय, यस्ता छन् एजेण्डा

मंगलबार, ७ असार २०७९

मंगलबार, ७ असार २०७९

संचारकर्म छोडेका रवि लामिछानेले आजबाट औपचारिक राजनीतिक यात्राको सुरुवात गरेका छन् । उनले कुनै राजनीतिक दलसँग जोडिएर होइन आफ्नै नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर राजनीतिक यात्राको सुरुवात गरेका छन् ।



आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै नयाँ पार्टीको नाम घोषणा गरेका हुन् । पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । यो देशमा मान्छे रोएको आफूले जति कसैले पनि नदेखेको दावी गर्दै उनले भने, ‘प्रत्येक कार्यक्रममा दैनिक आएर रुनुहुन्थ्यो, आम जनताको भीड राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशकहाँ लागेन किनकि त्यहाँबाट केही लाग्दैन भन्ने जनतालाई थाहा थियो र थाहा छ ।’

उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको जानकारी दिदै पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने जानकारी दिए । लामीछानेले पार्टीभीत्र रहेका ती २१ जनामा देशले चिनेका अनुहार नभएपनि देशलाई चिन्ने मान्छे राखेको बताए ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको माग गर्नेछ । चुनाव चिह्न सार्वजनिक गर्दै उनले भने अब भ्रष्टहरुको दिमागमा घण्टी “भ्रष्टहरुको दिमागमा घण्टी बजाउछौँ । यो सुशासनको घण्टी हो,” । यद्यपी उनले चुनाव चिन्ह घण्टी प्रस्ताव गरेपनि अन्य दलले दर्ता गरिसकेको भन्ने समाचारहरु बाहिरिएका छन् ।

लामीछानेले पार्टी घोषणा नगर्दै उनको उम्मेदवारीलाई लिएर आम मानिसले काठमाडौंको विभिन्न निर्वाचन क्षेत्रबाट चुवान उठ्न लागेको अड्कलबाजी गरेका थिए । लामिछानेको उम्मेदवारीलाई चासोको साथ हेरेका मानिसलाई यो बिषय अझै रहस्य नै बनेको छ । उनले पार्टी नै घोषणा गरेपनि कुन ठाउँबाट चुनाव लड्ने भन्ने कुरा खुलाएनन् । उम्मेदवारीको सवालमा मुख नखोलेका लामिछानेले आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गर्दै भने, ‘हुनत मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ, मन भए पनि अहिलेको अवस्था त्यस्तो छैन ।’ उनले उल्लेखित क्षेत्रबाट चुनाव लड्न नडराएको दावी गर्दै सरकारमा रहेका व्यक्तिहरुले कस्तो चुनाव गराउँछन् भन्ने आफूहरुलाई जानकारी रहेको बताए । ‘म डराएको होइन । सरकारमा को छन् र उनीहरुले कस्तो चुनाव गराउँछन् भन्ने थाहा छ । तर हामीलाई हार्ने सुविधा छैन,’ लामिछानेले भने ।

लामिछानेले निर्वाचन आयोगबाट फर्केर आजै पार्टीको बैठक बस्ने जानकारी दिए । घोषणा सभाको अन्त्यमा उनले कसैसँग पनि झुक्याएर भोट नलिने भन्दै देश कस्तो बनाउने नक्सा कोरेर जनतालाई देखाएर मात्र भोट माग्न आउने बाचा गरे ।

लामिछानेले पार्टी घोषणामा आफ्नो राजनीतिक एजेण्डा पनि यसरी प्रस्तुत गरेः

  • पार्टीमा कार्यकर्ता र भातृ संगठन नहुने
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
  • प्ररम्भिक निर्वाचन प्रणाली
  • पार्टीमा ५० प्रतिशत युवा समावेश
  • राईट टु रिकल र राईट टु रिजेक्ट
  • डिजिटल डेमोक्रेसी
  • परिवारवाद निषेध

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट