आइपिओ जारी नगरेका बीमा कम्पनीहरु सुविधासहित मर्जरमा जान सक्ने-Sutra News

आइपिओ जारी नगरेका बीमा कम्पनीहरु सुविधासहित मर्जरमा जान सक्ने

मंगलबार, ७ असार २०७९

मंगलबार, ७ असार २०७९

अब सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी नगरेका बीमा कम्पनीहरुले पनि एकअर्कामा मर्ज हुन सक्ने भएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जान दवाव र सुविधा सँगसँगै दिएर आइपिओ जारी नगरेका कम्पनीहरु पनि मर्ज हुनसक्ने जानकारी दिंदै परिपत्र गरेको छ ।



समितिले यसअघि पनि कम्पनीहरुलाई फोर्स मर्जरमा जानका लागि विभिन्न सुविधा उपलब्ध गराउने घोषणा गरिसकेको छ । उल्लेखित विषयमा समितिले थप सम्बोधन गर्दै बीमा कम्पनीहरुलाई एक अर्कामा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने व्यवस्थासहित परिपत्र जारी गरेको छ ।

परिपत्रमा उल्लेख भएअनुसार सर्वसाधारणमा सेयर जारी गरेका वा नगरेका इजाजतपत्र प्राप्त बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान सक्नेछन् । तर मर्जरमा गएका बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था बीमा कम्पनीले गर्नुपर्ने समितिले जनाएको छ ।

समितिले बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरुलाई मर्जरका लागि योग्य हुने सुविधा दिएको छ । तर मर्जरमा गइसकेपछि कम्पनीहरुले बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम अनिवार्य व्यवस्था गर्नुपर्ने छ ।

मर्जरका लागि सैद्धान्तिक सहमति लिएका कम्पनीहरुले गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रियाबाट अलग हुन चाहेमा मनासिव कारणसहित समितिको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । अन्यथा आफूखुशी निर्णय गरी मर्जर प्रक्रियाबाट अलग भएमा कार्वाहीको भागिदार हुने समितिले उल्लेख गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट