कन्टेनर डिपोमा विस्फोट हुँदा ४४ जनाको मृत्यु, सयौँ घाइते-Sutra News

कन्टेनर डिपोमा विस्फोट हुँदा ४४ जनाको मृत्यु, सयौँ घाइते

आइतबार, २२ जेष्ठ २०७९

आइतबार, २२ जेष्ठ २०७९

बंगलादेशको एक डिपोमा विस्फोट हुँदा ४४ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।



दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। मृत्यु हुने मानिसमध्ये कम्तीमा पाँच जना अग्निनियन्त्रक भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन्।

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ।

घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्।

विस्फोट भएको कैयौँ घण्टा भइसक्दा पनि आइतबार बिहानसम्म आगो नियन्त्रणमा आएको छैन।

यो डिपोमा करिब ६०० मानिसहरूले काम गर्ने त्यसका निर्देशक मुजिबुर रहमानले एएफपीलाई बताए।

बाङ्ग्लादेशमा आगलागीका घटना बारम्बार भइरहने गरेका छन्।

गत डिसेम्बरमा देशको दक्षिणी क्षेत्रमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो।

गत वर्ष राजधानी ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट