

निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन भएको छ ।
प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन् ।
विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन सुरु गरिएको प्रदर्शनमा सहभागिले बताए ।
स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।