‘आफ्नो काम र जागिर छाडेर मेयरमा आएको हुँ, मलाई काम गर्न दिनुस्’-Sutra News

‘आफ्नो काम र जागिर छाडेर मेयरमा आएको हुँ, मलाई काम गर्न दिनुस्’

शनिबार, २१ जेष्ठ २०७९

शनिबार, २१ जेष्ठ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफू भर्खरै जिम्मेवारीमा आएकाले फोहोर व्यवस्थापनका लागि केही दिन सोच्न, योजना बनाउन र आवश्यक काम अगाडि बढाउन दिन सिसडोलका स्थानीयसँग अनुरोध गरेका छन्।



आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन्। ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले भने, ‘मलाई काम गर्न दिनुस्।’

आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा स्थानीयको गुनासो सुनिसकेपछि उनले दुर्गन्ध हटाउने उपायबारे आफूले विज्ञहरूसँग आवश्यक छलफलसमेत गरेको बताए। ‘केमिकल हालेको एक साताभित्र दुर्गन्ध आउनेछैन,’ उनले भने, ‘त्यसका लागि स्थानीयले केही सहयोग गर्नुपर्ने हुन्छ।’

फोहोरको दुर्गन्ध हटाएपछि तीन महिनाभित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरी सिसडोलको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत मेयर साहले व्यक्त गरे। ‘हामीले बन्चरे डाँडाको पनि सबै रिपोर्ट अध्ययन ग¥यौं,’ उनले भने, ‘तीन महिनाभित्र फोहोर व्यवस्थापनको कार्य पनि बढ्छ।’ फोहोर व्यवस्थापनका लागि घरघरबाटै सहयोग हुनुपर्नेमा उनले जोड दिए।

उनले सड्ने र नसड्ने फोहोर छुट्याउन काठमाडौं महानगरपालिकाले घरघरमा पुगेर जनचेतना फैलाउने अभियान थाल्ने जानकारी पनि दिए। उनले महानगरवासीलाई इंगित गरेर एकछिन फोहोर केलाउन कसैले अल्छी गर्न नहुने धारणा व्यक्त गरे। ‘तपाईंहरूले पाँच मिनेट फोहोर छु्ट्याउन अल्छी गर्दा कतैकतै मानिस मरिरहेका छन्,’ उनले भने, ‘महानगरवासीले यो कुरालाई गम्भीर रूपमा लिने विश्वास लिएको छु।’

उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न सिसडोलका स्थानीयसँग आग्रह गरे। स्थानीयका समस्या सबै समाधान गरिने तर फोहोर विसर्जनमा अवरोध गर्न नहुने उनको भनाइ थियो।

सरोकारवालाले भने मेयर साहले फेहोरको प्रभावकारी व्यवस्थापनसम्बन्धी स्पष्ट खाका अझै नल्याएको बताए। समस्या समाधान कसरी गर्ने भन्नेमा मेयर आफैं स्पष्ट नभएको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए। ‘मेयरबाट स्थलगत अवलोकन र निरीक्षण त भयो,’ तामाङले भने, ‘तर उहाँले समस्या समाधानबारे कुनै स्पष्ट निर्णय र खाका दिनुभएको छैन।’ सिसडोल र बन्चरेडाँडा ककनी गाउँपालिकाअन्तर्गत पर्छ।

स्थानीयको माग के हो?

सन् २००५ मा तीन वर्षका लागि भनेर सिसडोल क्षेत्रमा काठकाडौं महानगरपालिकाले फोहोर फाल्न थालेको १७ वर्ष भइसक्यो। यसको विकल्पमा बन्चरेडाँडामा ल्यान्डफिल्ड साइट बनाइएको छ। तर फोहोरको सही व्यवस्थापन हुन नसक्दा सिसडोलका बासिन्दाले पीडा भोग्दै आएका छन्। उनीहरूले फोहोरमैलाको सही व्यवस्थापन हुनुपर्ने साथै त्यसले पारेको प्रभाव न्यूनीकरणका लागि स्थानीयलाई रोजगारी, शिक्षा, स्वास्थ्य आदिको सुनिश्चितता गरिनुपर्ने माग राखेको अध्यक्ष तामाङले जानकारी दिए।

‘फोहोर र मान्छे एकै ठाउँमा रहन सम्भव छैन,’ स्थानीयको मुख्य मागबारे उनले भने, ‘फोहोरबाट अति प्रभावितलाई क्षतिपूर्ति र कम प्रभावितलाई सेवासुविधासहित राहत दिइयोस्।’ फोहोर उत्पादन काठमाडौंमा हुने भएकाले त्यसको व्यवस्थापनका क्रममा सिसडोलमा देखिएका सम्पूर्ण समस्याको समाधान काठमाडौं महानगरपालिकाले नै गर्नुपर्ने अध्यक्ष तामाङले बताए। ‘यहाँ फोहोर फालेर काठमाडौं महानगरले समस्या निम्त्याएको हो,’ उनले भने, ‘समाधान गर्ने पहिलो जिम्मेवारी पनि उसकै हो।’

ल्यान्डफिल्ड साइटदेखि मन्त्रालयसम्म दौडधुप

फोहोरको समस्या समाधान नगरेसम्म विजयोत्सव नमनाउने निर्णय लिएका मेयर साह मेयर चुनिएकै दिन जेठ १३ गते दिउँसो केही सहयोगी लिएर ल्यान्डफिल साइट रहेको ककनी गाउँपालिकास्थित सिसडोल र बन्चरेडाँडा पुगेका थिए। उनले त्यहाँका स्थानीयसँग कुराकानी गर्दै फोहोर विसर्जनका कारण निम्तिएका समस्या चाँडै समाधान गर्ने बताएका थिए। उनले सोही दिन फोहोर समस्या समाधानकै विषयमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायतसँग राति १० बजेसम्म अनौपचारिक छलफलसमेत गरेका थिए। जेठ १६ गते पदको शपथ लिने क्रममा मेयर साहले फोहोर व्यवस्थापनकै विषयमा केन्द्रित रहेर धारणा राखेका थिए। त्यसपछि साहले १८ गते सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे छलफल गरे।

भेटमा साहले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने भन्दै सो विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न मन्त्री झाँक्रीसँग अनुरोधसमेत गरे। सोही मौकामा उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा सहज विसर्जनका लागि सहजीकरण गरिदिनसमेत आग्रह गरे।

मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न सधैं तयार रहेको बताएकी थिइन्। उक्त अवसरमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले बन्चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भएको जानकारी दिएका थिए। उनले बन्चरेडाँडाको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेको समेत बताएका थिए। मेयर साहको सक्रियत बढे पनि पनि तत्कालै समस्या समाधान हुने छाँटकाँट भने देखिन्न। नागरिक दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट