अत्यन्तै आक्रोशित सिसडोलका स्थानीयलाई बालेनले सोधे- ‘तपाईंहरु रातभरि बोल्ने हो ?’-Sutra News

अत्यन्तै आक्रोशित सिसडोलका स्थानीयलाई बालेनले सोधे- ‘तपाईंहरु रातभरि बोल्ने हो ?’

शुक्रबार, २० जेष्ठ २०७९

शुक्रबार, २० जेष्ठ २०७९

अहिले काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन नहुँदा काठमाडौँवासीहरु दुर्घन्धित बाटो हिंड्न बाध्य रहेका छन् ।



यसअघि काठमाडौँ महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराख्दा पटकपटक यो समस्या झेल्नुपरेको कतिपयको भनाई छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर महानगरको मेयरको कमाण्ड सम्हालिरहेका बालेन्द्र शाह शपथग्रहण गरेसंगै फोहोर व्यवस्थापनमा लागिपरेका छन् । तर उनलाई यो निकै चुनौतीको विषय बन्ने पक्का छ ।

मेयर शाह उपमेयर सुनिता डंगोललाई लिएर काठमाडौँको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोल पुगेका थिए । आज उनी र स्थानीयबीच चर्काचर्की नै परेको थियो ।

आफ्नो पुरानो माग सम्बोधन नभएको भन्दै स्थानीयहरुले चर्को चर्को आवाजसहित मेयर शाहसँग कुरा गरिरहेका थिए । उनीहरुलाई बालेन्द्र शाहले  पनि सोही स्तरको जवाफ फिर्ता गरे ।

उनले मेयरको कुर्सीमा बसे लगत्तै आफू फोहोरको समस्या समाधानमा लागिपरेको बताइरहँदा स्थानीयले होहल्ला गरे । आफूहरूको पुरानो माग समाधान नभएको उनीहरूको भनाइ थियो ।

उनीहरुको जवाफ दिंदै बालेन्द्रले भने, ‘म गइराको छु त । प्रधानमन्त्रीकोमा गएँ । आएको चार दिन भयो । मन्त्रीकोमा यही कुरा लिएर गएको छु । कि नजा भन्नु । कामै नगर भन्नु न त ।’

स्थानीय बोल्न नछाडेपछि उनले फेरी भने, ‘तपाईंहरु रातभरि बोल्ने हो ?’

स्थानीय थप उत्तेजित भएपछि उनी त्यतिमा रोकिएनन्, उनले थपे, ‘ मैले यो जागिर पनि खाइराख्नु पर्दैनथ्यो । म इन्जिनियर हो । म आफ्नो काम गरेर बस्न सक्थेँ । साढे तीन लाख तलब खाइरहेको थिएँ ।‘

उनीमाथि आक्रोश पोख्ने मानिसहरुको संख्या बढ्दै गयो ।  बालेन बोलेर सकेपछि उपमेयर डंगोलले जवाफ दिएकी थिइन् । उनले भनिन् , ‘डे वान देखि आजसम्म विशेष ध्यान र प्राथमिकता नै यही हो । यसका लागि महानगरले हरेक तहका सरकारसँग गर्नुपर्ने समन्वय सहकार्यका लागि केही कार्य अगाडि बढाइसकेका छाैँ । महानगरभित्र पनि फोहोरमैला व्यवस्थापनका लागि कार्यदल बनाएका छौं ।‘

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट