एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि-Sutra News

एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

शनिबार, १४ जेष्ठ २०७९

शनिबार, १४ जेष्ठ २०७९

सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा ५० प्रतिशत बढी मूल्यवृद्धि गरेको हो ।



पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बहानामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागले पटकपटक भाडा वृद्धि गर्दा सर्वसाधारण भने मारमा परेका छन् । सार्वजनिक यातायातका प्रयोगकर्ताले यातायातका साधन प्रयोग गर्दा चर्को भाडा तिर्न बाध्य भएका छन् । पेट्रोलियम पदार्थमा विभिन्न बहानामा कर असुल गर्दै आएको सरकारले सार्वजनिक यातायातका साधनमा छुटलगायतका सुविधा दिएर सार्वजनिक यातायातका प्रयोगकर्तालाई राहत दिने विषयमा चासो देखाएको पाइएको छैन ।

गत असार अन्तिममा सरकारले २८ प्रतिशतसम्म सवारीसाधनको भाडा वृद्धि गरेको थियो । सरकारले चैत तेस्रो साता पुनः दोस्रोपटक १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाएको थियो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेकामा चैतमा पुनः १५ प्रतिशतसम्म वृद्धि भएको थियो । विभागले गत चैत अन्तिममा सार्वजनिक गरेको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो । सरकारले पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको थियो । केन्द्रीय सरकारको निर्णयलगत्तै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुँदै आएको छ ।

यसअघि, गत २७ असारमा यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

सरकारले गत जेठ पहिलो साता पुनः तेस्रोपटक सवारीसाधनको भाडा बढाएको थियो । इन्धनको मूल्यवृद्धि भएसँगै सरकारले स्वचालित प्रणालीअन्तर्गत सार्वजनिक यातायातको भाडा वृद्धि गरेको जनाएको थियो ।

यातायात व्यवस्था विभागले जेठ पहिलो साता अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ३.५ प्रतिशतले वृद्धि गरेकामा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५.१ प्रतिशतले बढाएको थियो ।

सरकारले पुनः जेठ दोस्रो साता चौथोपटक सवारीसाधनको भाडा वृद्धि गरेको थियो । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पछिल्लोपटक एक सातामा नै दोस्रोपटक भाडा वृद्धि गरेको हो ।

सरकारले स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सवारी साधनको पनि भाडा वृद्धि गरिएको जनाएको छ । पछिल्लोपटक यात्रुवाहक सवारीसाधनमा २ दशमलव १ प्रतिशत भाडा बढाइएको छ । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर १० रुपैयाँ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २ दशमलव १ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।

गत असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १ सय २१ र डिजल १ सय ४ रुपैयाँ प्रतिलिटर थियो । हाल पेट्रोलको प्रतिलिटर मूल्य १८० र डिजलको १ सय ६३ रुपैयाँ पुगेको छ । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट