

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।
दाहालको अहिले ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारले जनाएको छ । दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताइन् ।
‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकाले डिस्चार्जको तयारीमा छौं’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।
टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।