पोखरामा माधव र ओली दुवैले जित्ने-Sutra News

पोखरामा माधव र ओली दुवैले जित्ने

बुधबार, ११ जेष्ठ २०७९

बुधबार, ११ जेष्ठ २०७९

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ ।



सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ ।

धनराज आचार्य निकतम् प्रतिस्पर्धी भन्दा ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । उनले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार रातिसम्म १ लाख ३९ हजार ४ सय ११ गणना भएको छ । अब ३ हजार ८ सय जति गणना बाँकी छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । उनीहरुबीच ३ हजार ९ सयको अन्तर छ ।

यसरी मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी मञ्जुदेवी २०७४ सालको चुनावमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । पाँचदलीय गठबन्धनकै उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेर विजयी सुनिश्चित गरेकी गुरुङले पोखरामा एमालेको शाख बचाएकी छन् ।

पोखराका कुल ३३ वटा वडामध्ये अब ३ वटा मात्र वडाको गणना बाँकी छ । ती वडाको गणना मंगलबार दिउँसो आइसक्ने यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए पनि मध्यान्हमा एक्कासि विवाद उत्पन्नपछि ७ घण्टासम्म यहाँको गणना रोकिन पुगेको थियो । पोखराले गत ३१ वैशाखदेखि मत गनिरहेकोमा ११ दिनसम्म पनि सकेको छैन । त्यसो त पोखराका ५ पालिकामध्ये अन्य ४ गाउँपालिकाको मतगणना सम्पन्न भइ नवनिर्वाचित जनप्रतिनिधिले पदवहाली गरिसकेका छन् ।

पोखरामा हालसम्म कांग्रेसले २१ वटा वडामा विजयी हासिल गर्दा एमालेले ९ वटा वडा जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले पोखराको प्रमुख र उपप्रमुखसहित २२ वडामा जितेको थियो । त्यसैले पनि पोखरा एमालेको गढ मानिन्थ्यो । त्यसबेला कांग्रेसले ११ वटा वडामात्र जितेकोमा अहिले एमालेभित्रै ‘अन्तर्घात’ हुँदा नतिजा ठिक उल्टिन पुगेको राजनीतिक विश्लेषक बताउँछन् ।

टिकटमा समाजवादीले अडान नछाड्दा कांग्रेस कास्कीका नेताहरु गठबन्धनबाट कांग्रेसलाई जसरी पनि मेयर टिकट दिनुपर्ने भनी पार्टी सभापति शेरबहादुर देउवा भेट्न पुगेका थिए । गठबन्धनमा जोड दिएका देउवाले अघिल्लो पटक पनि माओवादीसँग गठबन्धन हुँदा किन पराजित भएको भन्ने प्रतिप्रश्न गर्दै नाजवाफ फर्काएका थिए । देउवाले उक्त प्रश्नमा पोखराको कांग्रेसमा सामूहिकता छैन, अन्तर्घात गर्लान् भन्ने थियो । साथै लेखनाथ नगरपालिकालाई पोखरामा किन मिसाएको भन्ने थियो । अन्ततः स्थानीय चुनावमा गठबन्धन बनेपछि एकीकृत समाजवादीका धनराज आचार्य मेयर उमेदवार बनेका थिए ।

एमालेबाटै चोइटिएको एकीकृत समाजवादीलाई भने यहाँको चुनाव जसरी पनि जित्नुपर्ने दबाब बन्यो । पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि यसलाई धेरै चासोका साथ लिएका थिए । सत्ता गठबन्धनमा ६ महानगरमध्ये पोखरा एकीकृत समाजवादीलाई, भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जसपालाई दिएर बाँकी काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसले राखेको थियो ।

पोखराको मेयर टिकट समाजवादीलाई दिएपछि भने कांग्रेस र माओवादी केन्द्रभित्रै असन्तुष्टी चलिएको थियो । समाजवादीको १५ हजार मत रहेको दाबी गरेका धनराजलाई कांग्रेस र माओवादीको इमानदारिता लिएर यहाँको चुनाव जित्नु फलामको चिउरा चवाउनुसरह थियो । यद्यपि उनले बाजी मारेका हुन् ।

तत्कालीन पोखरा उपमहानगर हुँदा २०५४ सालको चुनावमा मेयर एमालेका कृष्ण थापा २५ वर्षपछि आचार्यसँगै कडा प्रतिस्पर्धी थिए । त्यसबेला एमालेमा छँदा थापालाई मेयर बनाउन महत्वपूर्ण भूमिका खेलेका आचार्य पार्टी चोटिइएपछि आमनेसामने हुँदा यहाँको प्रतिस्पर्धालाई निकै रोचक मानिएको थियो । गठबन्धनको कांग्रेसले वचनमा कटिबद्ध भएर भोट हालिदिएको हुँदा मेयरमा उनको जीत सहज बन्दा उपमेयरमा भने रानाभाट पछि परिन् । त्यसो त नेकपा एमालेभित्रैका मतदाताले मेयरमा कृष्ण थापालाई मत नदिई आचार्यलाई बाटो खोलिदिएको कतिपय बताउँछन् ।

थापाले जातीय विभेद, पटक–पटक लाभको पद तथा मेयर टिकटमा चलखेल गरेको एमालेको एउटा पंक्तिले नै आरोप लगाउँदै आएको थियो । एमाले सचिवालय बैठकले सुरुआतमा दीपक पौडेललाई मेयर टिकट थमाएकोमा उनी सुन चोरी काण्डमा मुछिएको भिडियो भाइरल बनेपछि टिकट खोसिएको थियो । र, थापालाई टिकट थमाइएको हो । गण्डकी प्रदेश सांसद रहेका थापाले राजीनामा बुझाउँदै पुनः मेयर प्रतिस्पर्धामा होमिएका थिए । एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको रिक्तताले पनि पोखराले विगतमा जितेका मेयरसहित दुइतिहाइ वडा गुमाउन पुगेको हो । सुरुआतमा टिकट पाउने दीपक पौडेल गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले नेता पृथ्वीसुव्वा निकट मानिन्छन् भने कृष्ण थापा पूर्वगृहमन्त्री समेत रहेका खगराज निकट मानिन्छन् ।

७ घण्टासम्म मतगणना स्थगित

पोखरा महानगरको मंगलबार दिउँसो ७ घण्टासम्म मतगणना स्थगित भयो । वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा एमालेले पुनः गणना माग गर्दै निवेदन दियो । र, गणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाउँदै विरोध प्रदर्शन थाल्यो । जसका कारण उत्तरार्धमा रहेको पोखरा २२, ३२ र ३३ को जारी मतगणनासमेत ७ घण्टासम्म रोकिन पुगेको हो ।

मतगणनास्थल सहिदचोकमा सत्ता गठबन्धनले तत्काल मतपरिणाम सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरिरहँदा नेकपा एमालेले आप्mनो मत हराएको भन्दै विरोध गरेको थियो । पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारवाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमतिपछि पुनः मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जनाए । पोखरा १८ को निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उनको आश्वासन छ । हाल पोखरा २२, ३२ र ३३ को गणना जारी छ । ३३ वटा वडामध्ये ३० वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

पोखरा १८ मा निर्वाचित कांग्रेसका वडाध्यक्ष शिव तिमिल्सिना लगायतले जनप्रतिनिधिले भने अबिरजात्रा गरिसकेका छन् । तिमिल्सिना मात्र ३ मतअन्तरले निर्वाचित भएका हुन् । उनले ४ हजार ६ सय ४३ मत ल्याएकोमा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६ सय ४० मत ल्याएका हुन् । सो वडामा ४ हजार ३ सय ४८ मत खसेको थियो । तर गणनामा भने ९ मत कम भएकोले पुनः मतगणना हुनुपर्ने माग आफूहरुको रहेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले बताएका छन् ।

कास्कीका ५ स्थानीय तहमध्ये चुनावमा एमाले विगतको विरासत गुमायो । पोखराबाहेक ४ गाउँपालिकामध्ये एमालेले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा कांग्रेसले २ अध्यक्ष र १ उपाध्यक्षमात्र विजयी हासिल गरेको छ । अघिल्लो पालि एमालेले कास्कीका ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष बाहेक पोखराको मेयर÷उपमेयर र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष जितेको थियो । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट