जीतपुरसिमराका नवनिर्वाचित मेयर पौडेलले भत्काए न्यायिक इजलाश कक्ष-Sutra News

जीतपुरसिमराका नवनिर्वाचित मेयर पौडेलले भत्काए न्यायिक इजलाश कक्ष

मंगलबार, १० जेष्ठ २०७९

मंगलबार, १० जेष्ठ २०७९

बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले आफ्नो कार्यकक्ष बनाएका हुन् ।



उपमहानगरमा रहेको नगर प्रमुखको कार्यकक्ष हुँदाहुँदै पौडेलले उक्त कक्षमा नबसेर इजलाश कक्ष हटाउँदै उक्त कोठालाई कार्यकक्ष बनाएका हुन् । इजलाश भत्काएर तयार गरिएको कार्यकक्षमै पौडेलले सोमबार बिहान पदभार ग्रहण गरेका थिए ।

न्यायिक कक्षलाई कार्यकक्ष बनाएपछि इजलाशका फर्निचर चौथो तल्लामा रहेको सभाहलमा थुपारिएको छ । नगर कार्यपालिकाको बैठकलगायत विभिन्न कार्यक्रम हुने हलको टेबल र कुर्सीमाथि इजलाश कक्षको फर्निचरलगायतका सामान यत्रतत्र छाडिएका छन् ।

नेपालको संविधान ०७२ धारा २१७ ले प्रत्येक स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष संयोजक हुने गरी न्यायिक समिति हुने व्यवस्था गरेको छ । न्यायिक समितिले नगर क्षेत्रभित्रबाट परेका उजुरी र विवादमा छलफल गरी न्याय सम्पादन गर्नेगर्छ । जीतपुरसिमरामा पनि सोहीअनुसार करिब आठ लाख लागतमा न्यायिक इजलाश कक्ष निर्माण गरिइको थियो ।

उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वतीदेवी चौधरीले उपप्रमुखको कार्यकक्षसँगै रहेको कोठामा न्यायिक इजलाश बनाएर न्याय सम्पादन गर्दै आएकी थिइन् ।समितिमा निर्वाचित नगरसभा सदस्यमध्ये दुई जना सदस्य, एक जना अधिवक्ता र कर्मचारी रहनेछन् ।

कक्ष भत्काएपछि तत्कालै न्याय सम्पादनको काम प्रभावित हुने भएको छ भने उपमहानगरको सभाहलमा सामान राखिएपछि बैठक तथा कार्यक्रम पनि नहुने भएका छन् ।

ज्योतिषको सल्लाहअनुसार न्यायिक कक्ष भत्काएको आरोप

कार्यकक्ष तयार गर्नुअघि पौडेलले ज्योतिषसँग सल्लाह लिएको र ज्योतिषले इजलाश कक्षनै उपयुक्त हुने सुझाएको जनाइएको छ । यसपछि ज्योतिषको सल्लाहअनुसार नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्ने इजलाश कक्षनै भत्काएर पौडेलले कार्यकक्ष बनाएको स्रोतको भनाइ छ ।

इजलाशलाई कार्यकक्ष बनाएका पौडेलले निवर्तमान उपप्रमुखको कक्षलाई वेटिङ रुम बनाएका छन् । उपप्रमुखको कार्यकक्षलाई वेटिङ रुम र इजलाश हटाएको विषयमा नवनिर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारी समेत जानकार थिएनन् । नगर प्रमुख पौडेलले इजलास हटाउने विषयमा सामान्य छलफल समेत नगरेको उपप्रमुख अधिकारीले बताए ।

नगर प्रमुख पौडेलले भने निवर्तमान नगर प्रमुखको कोठामा घाम लाग्ने भएकाले इजलास कक्षलाई कार्यकक्ष बनाएको प्रतिक्रिया दिएका छन् । नवनिर्वाचित नगरप्रमुख पौडेलले घाम लाग्छ भनेको उक्त कोठामा निवर्तमान नगर प्रमुख डा। कृष्ण पौडेलले पहिलो कार्यकाल बिताएका थिए ।

उपप्रमुखको कार्यकक्षलाई नगर प्रमुखले वेटिङ रुम बनाएपछि उपप्रमुख अधिकारीले निवर्तमान नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट