

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’
उनले गोरखाको पालुङटार नगरपालिका(१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए । आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए । गोप्य हुने भनिएको मतदानको मतपत्र नै सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि उनले गोप्य राख्न चाहनेलाई मात्र छुट दिने भनेको प्रस्ट पारेका हुन् ।
लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!
— Baburam Bhattarai (@brb1954) May 13, 2022