स्थानीय निर्वाचन २०७९ः मतदाता परिचयपत्र नभए नागरिकता-Sutra News

स्थानीय निर्वाचन २०७९ः मतदाता परिचयपत्र नभए नागरिकता

बुधबार, २८ बैशाख २०७९

बुधबार, २८ बैशाख २०७९

निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका र हराएकालाई नागरिकता देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो।



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा भएका सबैले मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी गराउँदै भने, ‘मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताले नागरिकता देखाएर पनि मतदान गर्न पाउने छन् ।’ उनका अनुसार स्थानीय तहमा मात्रै होइन, सबै तहको निर्वाचनको पहिलो सर्त भनेको मतदाता नामावली हो। उनले भने, ‘मतदाता नामावलीको पूर्वसर्त भनेको नागरिकताको प्राप्ति हो। त्यसकारण नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्न पाउनेगरी निर्वाचनको व्यवस्था गरिएको छ।’

आयोगले मतदाता नामावलीमा दर्ता भएका नयाँ मतदाता र परिचयपत्र हराएकालाई मतदाता परिचयपत्र वितरण गर्ने पनि जनाएको छ। ‘पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने।

मौन अवधि सुरु  

स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मतदान शुक्रबार हुँदैछ। निर्वाचन आयोगले मतदान सुरू हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो। मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन।

आयोगले मतदातालाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि हुन नदिन तथा मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट घर फर्किन सक्ने वातावरण निर्माण गर्न आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। ‘निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल र उम्मेदवारबाट हुने अवाञ्छित गतिविधि रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ,’ मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने, ‘मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ।’

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार, दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायतका काम गर्न नहुने, सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री संप्रेषण वा सेयर गर्न, गराउन नहुने आयोगले जनाएको छ।

मतदान स्थलको तीन सय मिटर वरपर राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री राख्न पाइने छैन। मतदानको दिन राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याच लगाउन पाइने छैन। उम्मेदवारको पहिचान देखिने सांकेतिक पोसाक, वस्तु लगाउन, बोक्न र देखाउन पनि पाइने छैैन। कुनै पनि सवारी प्रयोग गरी आउजाउ गर्न वा कसैलाई लैजान वा ल्याउन पाइने छैन।

सात महिनाभन्दा बढीकी गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताका लागि भने निर्वाचन अधिकृतले अनुमति दिएको सवारी प्रयोग गर्न बाधा नपुग्ने आयोगले जनाएको छ। आयोगका अनुसार मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइने छैन। त्यस्तै नसालु पदार्थ, मादक पदार्थ सेवन गरेर मतदान गर्न जान पाइने छैन। मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झूटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्न वा गराउन पाइने छैन।

आयोगले तोकेको निर्वाचन आचरण निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि एक लाख रूपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र गराउनेको अनुगमन गरी कारबाही गर्न आयोगले विभिन्न संयन्त्र बनाएको छ। आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न पनि आयोगले सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ। कसैले आचारसंहिता विपरीत काम गरे जानकारी गराउन पनि आयोगले आग्रह गरेको छ।

आयोगले मौन अवधि सुरु भएपछि मतदान कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायातका सेवा बन्द गर्ने व्यवस्था मिलाएको छ। आयोगले उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरेको छ। निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरू भएपछि मतदान कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्थाअनुसार आयोगले मौन अवधिमा पालना गर्नुपर्ने १८बुँदे आचरणसम्बन्धी निर्देशन जारी गरेको छ। ऐनको उपदफा २ मा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी छानबिनका क्रममा जाँचबुझ एवं अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिए त्यस्तो कार्य तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने उल्लेख छ।

यस्तो आदेश नमान्ने उम्मेदवार वा संघसंस्थालाई सफाइ पेस गर्न मौका दिएको अवस्थामा चित्तबुझ्दो जवाफ नआए उम्मेदवारी रद्द र जरिवाना गरिनेछ। उपदफा ३ मा आयोगले दिएको आदेश नमान्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

आयोगले निर्वाचन सुरक्षसम्बन्धी व्यवस्था मिलाएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने, ‘निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाइएको छ, जसअन्तर्गत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ।’

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूबाट सम्पूर्ण तयारी पूरा भइसकेका जनाएको छ।

यसपटक १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले स्थानीय तहका ३५ हजार २२१ प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन्। स्थानीय तहमा विभिन्न राजनीतिक दलका गरी ३५५ जना पदाधिकारी र ६ वडाध्यक्ष, ३५ जना स्वतन्त्र सदस्य निर्विरोध भएका छन्।

मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटाइएका छन्। स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये ६५ वटाले निर्वाचनमा भाग लिएका छन्। यसपटक विभिन्न पदका लागि ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ जना पुरुष गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार मैदानमा छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि बुधबार र बिहीबार नमुना मतपत्रसहित पोस्टरलगायत छपाइ सामग्रीको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ। मतदान ३० गते शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ। नागरिक दैनिक

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट