रेणु जिताउन देउवा र प्रचण्डको अथक प्रयास, तर छैन सोंचेझैं सहज-Sutra News

रेणु जिताउन देउवा र प्रचण्डको अथक प्रयास, तर छैन सोंचेझैं सहज

सोमबार, २६ बैशाख २०७९

सोमबार, २६ बैशाख २०७९

भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। केन्द्रको समेत ध्यान आफूतिर खिच्न सफल यो महानगरपालिकाको चुनावी चर्चा विशेष रूपमा भइरहेको छ। कसले जित्ने यकिन नभए पनि यहाँको निर्वाचनलाई लिएर विभिन्न आकलन हुने गरेको छ। नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी गतिविधिले नयाँ मोड लिएको छ।



भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि २७ जना उम्मेदवार मैदानमा छन्। जसमा ११ जना स्वतन्त्र छन्। मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन दल, नेकपा एमाले र कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका पौडेलबीच हुने देखिन्छ। प्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र एमाले–राप्रापा गठबन्धबाट विजय सुवेदी उम्मेदवार छन्। ठुला साना सबै दल र उम्मेदवारले चुनावी अभियानलाई तीव्रता दिइरहेका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन र एमालेलाई प्राप्त मतका आधारमा अहिले नै परिणाम कता जान्छ भनेर आकलन गर्न कठिन छ। भरतपुरका वडामा छुट्टाछुट्टै लडेका दलहरूको २०७४ सालको नतिजा हेर्दा एमाले, कांग्रेस र माओवादीको मत बढी छ। अघिल्लो निर्वाचनमा वडाध्यक्षको नतिजालाई हेर्ने हो भने महानगरको प्रमुख शक्ति नेपाली कांग्रेस नै हो।

२९ वटा वडाका वडाध्यक्षको नतिजा हेर्दा कांग्रेसको मत ३८ हजार १ सय २७ छ। एमालेको ३७ हजार १ सय ९५ मतसहित दोस्रो स्थानमा छ। एमालेले भरतपुर–२६ मा वडाध्यक्षको उम्मेदवार उठाएको थिएन। त्यहाँ उसले माओवादी उम्मेदवारलाई सहयोग गरेको थियो। यो वडामा एमालेले पाएको मत यहाँ गणना गरिएको छैन।

महानगरमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा धेरै पछि देखिन्छ। वडाध्यक्षका लागि २९ वटै वडामा उम्मेदवार उठाएको माओवादीले २१ हजार १ सय १८ मत ल्याएको थियो। सोझो हिसाबमा हेर्दा अहिले पनि सत्ता गठबन्धनका उम्मेदवारलाई जित्न सहज देखिन्छ। कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएपछि भने कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन। कांग्रेसभित्र देखिएको विद्रोहका कारण एमालेले फाइदा लिन सक्ने देखिन्छ।

२०७४ सालको निर्वाचनमा गठबन्धन हुँदा पनि एमालेले राम्रो मत ल्याएको थियो। वडा १९ मा मतपत्र नच्यातिएको भए एमालेले प्रमुख पद जित्ने अवस्था रहेको बताउने गरिन्छ। अहिले एमाले फुटेको भए पनि त्यति ठुलो प्रभाव नपर्ने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन्। ‘नेकपा विभाजन हुँदा पहिलेका माओवादी साथीहरू हामीसँगै हुनुहुन्छ। हामीबाट साथीहरू ५ प्रतिशत जानुभयो होला, उताबाट ३० प्रतिशत आउनुभएको छ,’ न्यौपानेले भने, ‘भरतपुरमा हामी बलियो बन्दै गएका छौं।’

भरतपुरका २९ वडामध्ये एमाले १४ वटामा विजयी भएको थियो। कांग्रेस १२ र माओवादी केन्द्र ३ वटा वडामा विजयी भएका थिए। माओवादीले जितेका तीनमध्ये एउटामा एमालेको समर्थन थियो। एमालेबाट वडाध्यक्ष जितेकामध्ये पाँचजना अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन्। उनीहरूमध्ये चारजना अहिले पनि वडाध्यक्षमा उठेका छन् भने एकजनाको उम्मेदवारी वडा सदस्यमा परेको छ।

यसअघि पूरै भोट गठबन्धनमा खसेको थिएन। कांग्रेस र माओवादीको मत जोड्दा रेणु दाहालले ५९ हजार २ सय ४५ मत प्राप्त गर्नुपर्ने देखिन्छ। तर गठबन्धन हुँदा पनि १६ हजार १ सय १८ कांग्रेस मत दाहाललाई गएको देखिँदैन। उनी ४३ हजार १ सय २७ मत ल्याएर प्रमुखमा निर्वाचित भएकी थिइन्।

एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो दलका वडाध्यक्षहरूले प्राप्त गरेको बाहेक ५ हजार ७ सय २९ मत बढी ल्याएको देखिन्छ। ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए। यस्तै राप्रपाबाट उठेका बद्री तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए। अहिले उनी माओवादी केन्द्रमा छन्। भरतपुर महानगरमा राप्रपा चौथो शक्तिका रूपमा छ।

त्यतिबेला उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीलाई पनि गठबन्धनको पूरा मत गएको थिएन। ठकुरीलाई १२ हजार मत गएको छैन। उनले ४७ हजार १ सय ९७ मत प्राप्त गरेकी थिइन्। उनकी निकटतम प्रतिस्पर्धी दिव्य शर्मालाई ३९ हजार ५ सय ५२ मत प्राप्त भएको थियो। राप्रपाका रिना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेकी थिइन्। एमाले, कांग्रेस, माओवादी र राप्रपाबाहेक अन्य दलले ५ सय मत पनि कटाएका थिएनन्। महानगर प्रमुखमा १४ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए। भरतपुरमा अहिले ३५ हजार मतदाता थपिएका छन्। उनीहरूको मत कता जान्छ भन्ने अवस्था छैन।

एमाले अहिले चितवनमा राप्रपासँग मिलेको छ। अहिले कांग्रेसभित्र देखिएको विवादका कारण चितवनमा सत्ता गठबन्धनलाई चुनौती थपिएको छ। तर अहिले सत्ता गठबन्धन बलियो बन्दै गएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताए। ‘केन्द्रको निर्णय नहुन्जेल अधिकांश कार्यकर्तामा अन्योल थियो। अहिले जिल्ला पार्टी एकढिक्क भएर लागेको छ,’ उनले भने। उनले केन्द्रको निर्णयविपरीत हिँड्ने कार्यकतालाई कारबाही गर्ने समेतको चेतावनी सार्वजनिक कार्यक्रममा दिने गरेका छन्। तर भरतपुरमा गरिएको गठबन्धनप्रति चितवनका कांग्रेस कार्यकता असन्तुष्ट छन्। पूर्वसांसद भीमप्रसाद श्रेष्ठदेखि पूर्वजिल्ला सभापति टीकाराम न्यौपानेसम्मका नेताहरू स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई जिताउन घरदैलो अभियानमै छन्।

सत्ता गठबन्धनले वातावरण आफ्नो पक्षमा मिलाउन भरतपुरमा शीर्ष नेतासहित आम सभासमेत गरिसकेको छ। सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताले मतदाता फकाए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेसले हँसिया हथौंडामाभोट हालेनन् भने देश दुर्घटनामा जान सक्ने बताएका थिए। नागरिक दैनिकमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट