स्थानीय तहको नेतृत्वमा जान युवाको आकर्षण, ३५ हजार भन्दा बढीले दिए उम्मेद्वारी-Sutra News

स्थानीय तहको नेतृत्वमा जान युवाको आकर्षण, ३५ हजार भन्दा बढीले दिए उम्मेद्वारी

आइतबार, २५ बैशाख २०७९

आइतबार, २५ बैशाख २०७९

वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट देखाएको छ ।



आयोगको पछिल्लो तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमा हुने निर्वाचनमा विभिन्न पदमा १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय निर्वाचन मार्फत ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आयोगका अनुसार यस पटकको स्थानीय निर्वाचनमा उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ जना रहेका छन् । यस्तै ३६ देखि ५० वर्ष उमेर समूहका ६७ हजार १६२ छन् भने ५१ देखि ६५ वर्ष उमेर समूहका ३७ हजार ५४ जना । उम्मेदवारी दिनेमा ६५ वर्षभन्दा माथिका ५ हजार ५२७ जना रहेका छन् ।

कूल उम्मेदवारमध्ये २४.३२ प्रतिशत २१ देखि ३५ वर्षका, ४६.३१ प्रतिशत ३६ देखि ५० वर्षका, २५.५५ प्रतिशत ५१ देखि ६५ वर्षका र ३.८१ प्रतिशत ६५ वर्षभन्दा माथिका रहेका छन् ।

वैशाख ३० गते हुने निर्वाचनमा प्रमुख पदमा ३ हजार २३८ जनाको उम्मेदवारी परेको छ । तीमध्ये २१ देखि ३५ वर्षका ६८० जना, ३६ देखि ५९ वर्ष उमेरका १ हजार ४३२ जना, ५१ देखि ६५ वर्षका ९८१ जना र ६५ वर्षभन्दा माथिका १४५ जना रहेका छन् ।

अध्यक्ष पदमा ३ हजार ९२ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६२२ जना, ३६ देखि ५० वर्षका १ हजार ४७० जना, ५१ देखि ६५ वर्षका ८३६ र ६५ वर्षभन्दा माथिका १६४ जना रहेका छन् ।

उपप्रमुख पदमा १ हजार ९६४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ४९७ जना, ३६ देखि ५० वर्षका १ हजार २ जना, ५१ देखि ६५ वर्षका ४१५ जना र ६५ वर्षभन्दा माथिका ५० जना रहेका छन् ।

उपाध्यक्ष पदमा २ हजार १६३ जनाको उम्मेदवारी परेकोमा २१ देखि ३५ वर्षका ६८२ जना, ३६ देखि ५० वर्षका १ हजार ६७ जना, ५१ देखि ६५ वर्षका ३८४ जना र ६५ वर्षभन्दा माथिका ३० जना रहेका छन् ।

वडा अध्यक्षमा उठेका ३२ हजार ४९३ जनामध्ये २१ देखि ३५ वर्षका ६ हजार ५६३ जना, ३६ देखि ५० वर्षका १५ हजार २४८, ५१ देखि ६५ वर्षका ९ हजार ३४२ र ६५ वर्षभन्दा माथिका १ हजार ३४३ जना रहेका छन् ।

आयोगका अनुसार सदस्यमा ५३ हजार १७३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्ष ११ हजार ७३१ जना, ३६ देखि ५० वर्षका २२ हजार ९७३ जना, ५१ देखि ६५ वर्षका १५ हजार ७३१ र ६५ वर्षभन्दा माथिका २ हजार ७३८ जना रहेका छन् ।

महिला सदस्यमा ५३ हजार १७३ जनाले उम्मेदवारी दिएकोमा २१ देखि ३५ वर्षका ७ हजार २७९ जना, ३६ देखि ५० वर्षका १२ हजार ८२९ जना, ५१ देखि ६५ वर्षका ४ हजार ९७९ जना र ६५ वर्षभन्दा माथिका ५१२ जना रहेका छन् ।

यस्तै, दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २१ देखि ३५ वर्षका ७ हजार २१३ जना, ३६ देखि ५० वर्षका ११ हजार १४१ जना, ५१ देखि ६५ वर्षका ४ हजार ३८६ जना र ६५ वर्षभन्दा माथिका ५४५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट