

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको चुनावी सभामा सहभागी हुन अर्का नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । सत्ता गठबन्धनको चुनावी सभालाई आउन देउवाले कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका हुन् ।
फोन संवादमा कोइरालाले ढिलो खबर आएको र विराटनगर जाने पूर्वनिर्धारित कार्यक्रम भएको भन्दै भरतपुर आउन नसक्ने जवाफ दिएको बताइएको छ । देउवासँग फोनसंवाद भएको पुष्टि गर्दै कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भरतपुरको कार्यक्रममा आइदिनुपर्यो भन्ने सभापतिको आग्रहलाई कार्यव्यस्तता कारण आउन नसकिने जानकारी दिएको बताए ।
सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका छन् ।
पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई उपस्थित हुने जनाएपनि शेखरको नाम उल्लेख गरेको थिएन ।