

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग भेटबार्ता गरेका छन् । गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले भेटका क्रममा उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गर्न जगन्नाथसँग आग्रह गरेका थिए ।
भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग पनि पौडेलले कुराकानी गरेका थिए ।
पौडेलले जगन्नाथको उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि जवाफमा कांग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै उनिहरुले फिर्ता नहुने बताएका थिए ।
सत्ता गठबन्धन सहमतिअनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस नेता जगन्नाथले विद्रोह गरेका हुन् ।
भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । कांग्रेसको असन्तुष्ट समूहले मेयरमा मात्र बागी उम्मेदवारी दिएको छ ।
जगन्नाथको उम्मेदवारी फिर्ताका लागि यसअघि पनि गठबन्धनका नेताहरुले प्रयास गरेका थिए भने गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन नै पुगेर फकाउने प्रयास गरेका थिए । तर जगन्नाथले पार्टीका नेताहरुको आग्रह र पार्टीको निर्देशन अस्वीकार गर्दै आएका छन् ।