लुम्बिनीको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिएका अर्जुन कति बलिया ?-Sutra News

लुम्बिनीको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिएका अर्जुन कति बलिया ?

बुधबार, २१ बैशाख २०७९

बुधबार, २१ बैशाख २०७९

लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन कुर्मीले चर्चा बटुली रहेका छन् । सामाजिक क्षेत्रमा सक्रिय कुर्मीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएसँगै चर्चा चुलिएको हो ।



कुर्मीले नगरवासीको आग्रह र जनभावना अनुरूप आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

दलगत राजनीतिभन्दा पनि समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको उनको दाबी छ । ‘हामी उपमेयरमा २२ जना प्रतिस्पर्धी छौं । सबै उम्मेदवार उत्तिकै क्षमतावान् छन् । तर, म दलभन्दा पर रहेर उम्मेदवार बनेको छु । किनकि मलाई सबै जनताको साझा बनेर काम गर्नू छ,’ उनले भने ।

लुम्बिनी सांस्कृतिक नगरको आफ्नो छुट्टै पहिचान रहेको बताउँदै उनले त्यसलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफूलाई युवाको साथ रहेको बताएका छन् ।

‘म आफै पनि युवा हुँ । ममा लुम्बिनीलाई बनाउने युवा जोस छ । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनदेखि सामाजिक क्षेत्रमा काम गरेकाले युवाहरूले मलाई उपमेयरमा उठ्न आग्रह गर्नु भएको हो,’ उनले भने । समाजलाई भ्रष्टाचार मुक्त बनाउनु अहिलेको अपरिहार्यता रहेको उनको ठहर छ ।

‘अहिले भ्रष्टाचारको अन्य गर्न आवश्यक छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । सुलभ र सहज स्वास्थ्य सेवाका क्षेत्रमा मैले काम गर्ने छु । सफा नगर बनाउन सधैँ प्रतिबद्ध रहने छु । महिलाका हक अधिकारका क्षेत्रमा काम गर्ने छु । सडक विस्तार, पुल विस्तार र खानेपानी विस्तारका क्षेत्रमा काम गर्ने छु,’ उनले भने ।

ज्येष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरूलाई रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबीजन, सिँचाइको लागि नहर, फ्री वाईफाई जोन, खुला ब्यायम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाइको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सेवा सुविधा बढाउने, होम स्टे सञ्चालन, लुम्बिनीलाई ग्रिन र क्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि नि:शुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भन्सार बनाउनेलगायतका योजना उनले अघि सारेका छन् ।

नगरपालिकामा लगानीमैत्री वातावरणको सिर्जना गर्न आफूसँग थुप्रै योजना रहेको कुर्मीले बताए । राजनीतिक दलका नेताहरूसँग जनताको वितिष्णा रहेकाले आफूले जित्ने लगभग पक्का जस्तै रहेको उनले बताए ।

विश्वास गरेर मत दिए नगरवासीको आफू प्रतिको विश्वास मर्न नदिने उनले बताएका छन् । स्थानीय अमन जैसवालले कुर्मीको साथमा युवाहरू रहेको बताएका छन् ।

‘उहाँ लामो समयदेखि युवाहरूको क्षेत्रमा काम गरिरहनु भएको थियो । उहाँले पर्यावरण, वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नु भएको छ,’ जैसवालले भने ।

गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठूलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्द्धनमा फरक अभियान चलाउनुपर्ने बताउँछन् । जतिधेरै पर्यटक भित्र्याउन सक्यो त्यति नै नगरपालिका समृद्ध हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट