शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । ‘कन्स्ट्रक्सन होलिडे’ कारण निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले आवश्यक माग सम्बोधनको पहल गर्न गम्भीर रहेको बताएकी हुन् ।
अहिले निर्माण व्यवसायीहरु मूल्यवृद्धिको सम्बोधन गर्न ठेक्काकहरुमा मुल्य समायोजन हुनुपर्ने भन्दै ‘कन्स्ट्रक्सन होलिडे’मा छन् । यसले विकास निर्माणको काम लगभग ठप्प अवस्था पुगेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने आश्वासन दिइन् । उनले भनिन्,’निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौं । निर्माणका काम रोकेर नबसौं ।’
उनले ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने बताइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए । उनले अन्य सम्बद्ध मन्त्रालयसँग पनि समन्वयका लागि पहल गरिदिन मन्त्री झाँक्रीसँग आग्रह गरे ।
अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन हुनुपर्नेमा जोड दिए ।