नेपाली शान्ति सैनिकले बलात्कार गरेको प्रमाणित भए कस्तो सजायँ हुन्छ ?-Sutra News

नेपाली शान्ति सैनिकले बलात्कार गरेको प्रमाणित भए कस्तो सजायँ हुन्छ ?

शुक्रबार, १६ बैशाख २०७९

शुक्रबार, १६ बैशाख २०७९

संयुक्त राष्ट्रसङ्घले शान्ति सेनामा खटिएको अवस्थामा सुरक्षाकर्मीद्वारा भएका बलात्कारमा स्वदेशमै त्यस्ता घटना भएको अवस्थामा लागु हुने कानुनी अभियोजन र कारबाही हुनुपर्ने अपेक्षा रहेको बीबीसीलाई बताएको छ।



संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै महिना सार्वजनिक गरेको विश्वव्यापी मानव अधिकार प्रतिवेदनमा अघिल्लो वर्ष प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कार्यरत रहेका चार नेपाली शान्ति सैनिकले नाबालिग बलात्कारको आरोप बेहोरिरहेको उल्लेख गरिएको थियो।

ती आरोपको छानबिन गरेर प्रतिवेदन बुझाइएको र ‘यौन दुर्व्यवहार र शोषण’को आरोपमा एक जनालाई बर्खास्त गरिएको अनि तीन सैनिक निर्दोष पाइएको नेपाली सेनाले बताएको थियो।

राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकायका एक प्रवक्ताले नेपालले पठाएको प्रतिवेदनका बारेमा समीक्षा भइरहेको प्रतिक्रिया दिएकी छन्।

बलात्कारको आरोप प्रमाणित भए के हुन्छ?

शान्ति सेना हेर्ने राष्ट्रसङ्घीय निकाय डिपार्टमन्ट अफ पीसकीपिङ अपरेशन्सकी ती प्रवक्ताले संयुक्त राष्ट्रसङ्घको आफ्नै अदालत नभएको तर सैनिक उपलब्ध गराउने देशहरूले नै त्यस्ता अपराधमा पीडकहरूलाई उत्तरदायी बनाउन सक्ने बीबीसीलाई बताएकी छन्।

“यौन दुर्व्यवहार प्रमाणित भएका कुनै पनि सैनिकको अभिलेख एउटा डेटाबेसमा राखिन्छ जसले गर्दा उनीहरूलाई पुनः रोजगारी वा राष्ट्रसङ्घीय प्रणालीमा काम गर्ने अवसर दिइँदैन,” उनले भनिन्।

“अपराध प्रमाणित हुने घटनाहरूको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले त्यस्ता अपराधको अनुसन्धान र त्यसपछिको सम्भावित कारबाहीका लागि आरोपित व्यक्तिका देशमा पठाउँछ। सदस्य राष्ट्रहरूलाई त्यसरी पठाइएका घटनाहरूमा कस्तो कारबाही गरिन्छ भनेर राष्ट्रसङ्घलाई जानकारी गराउन भनिएको छ।”

के भन्छ नेपाली सेना?

अहिले सार्वजनिक भएका चारवटा आरोपको हकमा अनुसन्धान सम्पन्न गरेर त्यसको जानकारी संयुक्त राष्ट्रसङ्घलाई पठाइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बीबीसीलाई बताए।

संयुक्त राष्ट्रसङ्घको कन्डक्ट इन यूएन फील्ड मिशन वेबसाइटमा चारै नेपाली शान्तिसैनिकलाई नाबालिग बलात्कारको अरोप लागेको भनिएको छ।

नेपाली सेनाका प्रवक्ताले चारवटा आरोप ‘यौन दुर्व्यवहार र शोषणसँग सम्बन्धित रहेको’ र त्यसमा तीन जनालाई निर्दोष पाइएकाले सफाइ दिइएको बताएका छन्।

उनका अनुसार दोषी ठहर भएका एक सैनिकलाई ९० दिन थुनमा राखिएको र सेवाबाट बर्खास्त गरिएको छ।

नेपालले पठाएको अनुसन्धान प्रतिवेदनको समीक्षा भइरहेको राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घीय निकायकी प्रवक्ताले अनुसन्धानको दायरा र सङ्कलित प्रमाणहरूको विश्लेषणको आधारमा शान्तिसैनिकमाथि लागेका आरोपहरूबारे फौज पठाउने देशहरूले गरेका अनुसन्धानको विश्वसनीयताबारे समीक्षा गर्ने गरिएको प्रतिक्रिया दिएकी छन्।

डीआर कङ्गोमा शान्ति स्थापना गर्ने राष्ट्रसङ्घको अभियानमा नेपाली सैनिकहरू पनि खटिएका छन्

बलात्कारको आरोपमा दोषी पाइने सैनिक व्यक्तिलाई गरिने कारबाहीको मापदण्डसम्बन्धी प्रश्नमा उनी भन्छिन्, “संयुक्त राष्ट्रसङ्घको अपेक्षा के छ भने प्रमाणित भएका त्यस्ता घटनामा गरिने कारबाही स्वदेशमा रहँदा हुने त्यस्ता घटनाका कारबाहीसँग मिल्दोजुल्दो हुनुपर्छ। जसमा फौजदारी अभियोजन र सजाय पर्छन्।”

राष्ट्रसङ्घले सन् २०१६ यता व्यापक रूपमा शान्तिसैनिकको एकाइबाट यौन दुर्व्यवहार र शोषण भएका विश्वसनीय प्रमाणका आधारमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, गणतन्त्र कङ्गो र गबोनका शान्तिसैनिकको डफ्फालाई मिशनबाट फिर्ता गरिएको जनाएको छ।

साथै पीडितहरूको सहयोगका लागि खडा गरिएको कोषमा अहिले ३८ लाख डलर रहेको जनाएको छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट