विवाहमा नाच्ने विषयमा झडप, एकको मृ्त्यु-Sutra News

विवाहमा नाच्ने विषयमा झडप, एकको मृ्त्यु

बिहिबार, १५ बैशाख २०७९

बिहिबार, १५ बैशाख २०७९

विपत्ती बाजा बजाएर आउँदैन तर खडक नगरपालिका–४ पंसेरास्थित पासवान टोलमा बाजा बजाएरै विपत्ती आयो।



सोमबार राति पंसेरामा तीनवटा घरमा विवाह थियो। पंसेराको टाँसिएका तीन टोलमा रहेको पुहुपा चौधरी, बद्री साह र रामचन्द्र पासवानको छोरीको विवाहको रमाइलो थियो।

विवाहका लागि कुशहा मझौराबाट जन्तीसहित आएको डीजे बाजामा नाच्ने विषयमा भएको विवादले २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भयो।

सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा जन्ती अघिअघि आएको डीजे बाजालाई विवाहस्थल पुग्नुअगाडि गाउँका केही युवाले रोके। तीन बिहेमध्ये सबैभन्दा पहिले पासवानको छोरीको विवाहमा जन्ती आएका थिए। मृतकका बुवा रामअशिषका अनुसार वैवाहिक कार्यक्रममा ढिलाइ हुने भएपछि सन्तलालले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान दिन आग्रह गर्दै बरु विवाहघर अगाडि नै गएर नाचगान गरौं भनेका थिए।

पंसेरा गाउँवासीको निर्णयअनुसार गाउँको भित्री भागमा डिजे बाजा बजाउन प्रतिबन्ध गरिएको छ। डिजेको चर्को आवाजले कसैलाई असर नपरोस र मादक पदार्थले मातिएका युवाहरुबीच झगडा नहोस् भनेर डिजे बाजालाई पंसेरा विद्यालयको मैदानमा लगेर नाचगान गर्न पनि सुझाव दिएका थिए।

सोही क्रममा नाच्न पुगेका युवाले गालीगलौज सुरु गरेपछि विवाद बढ्यो र कुटपिट भयो। गाउँलेहरुले कुटपिट साम्य गरेर पठाएपछि पुनः समूहमा आएको युवाहरुले सन्तलाललाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भाई कन्तलालले बताए।

घाइते सन्तलालको विराटनगरमा उपचारको क्रममा बुधबार मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा दिलिप चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको गम्भिररुपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लेले बताए। शवको कोशी अस्पताल विराटनगरमा बुधबार पोष्टमार्टम गरिएको छ। पोष्टमार्टम पश्चात शव गाउँ ल्याइने छतिसलाल पासवानले बताए।

चिकित्सकले मृत घोषणा गरेपछि श्रीमति रेखा दुई वर्षीया छोरीसहित घर फर्केर शव कुरिरहेकी छिन्। गाउँमा रुवावासी छ।

आक्रोशित गाउँलेहरुले पूर्व–पश्चिम राजमार्गस्थित अमहा चौकमा अपरान्ह आधा घण्टा चक्का जाम गरे। प्रहरीले उजुरी दर्ता गरी आरोपितहरुलाई कारवाही गर्ने लिखित प्रतिबद्धता गरेपछि चक्का जाम खुलेको छ।  अन्नपूर्ण पोष्ट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट